पाँच पुस्तक एकैसाथ लोकार्पण



काठमाडौं, (नेस)।

साहित्यकार एवं लेखक सुब सेनका पाँच पुस्तक एकैसाथ लोकार्पण भएको छ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आफ्नै भवनमा पहिलोपटक साहित्यिक कार्यक्रममा साहित्यकार सुब सेनद्वारा रचित कथासङ्ग्रह ‘भाले बासिसक्यो’ र उपन्यासहरू–‘अन्जुश्री’, ‘हेमा’, ‘वीरसिक्का’ र ‘आन्दोलन’को बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलसहित अध्यक्ष रामप्रसाद पन्त, विष्णु विभु घिमिरे, प्राडा. रामप्रसाद दाहाल, वरिष्ठ पत्रकार एवं प्रतिष्ठानका सल्लाहकार टंक पन्त, समालोचक ठाकुर शर्मा, पूर्वमन्त्री हरिप्रसाद न्यौपानेले लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले ‘भाषा’, ‘साहित्य’, ‘संस्कृति’ र ‘कला’को समुचित विकास नभईकन कुनै पनि देश समृद्ध र सम्पन्न भएको छैन र हुन पनि सक्तैन भन्नुभएको छ।

उहाँले प्रसिद्ध साहित्यकार सुब सेनका पाँच कृतिहरूले पनि सामाजिक सचेतना बढाउँदै नेपाली साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुनेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभएको छ।

उहाँले अगाडि भन्नुभयो– ‘बूढानीलकण्ठमा हामीले एउटा सिर्जनाग्राम बनाउनेछौँ र स्रष्टालाई साहित्य सिर्जना गर्ने महत्वपूर्ण ठाउँ उपलब्ध गराउनेछौँ।
सो कार्यक्रममा विमोचित कृतिमाथि प्राडा. भागवत ढकाल र समालोचक गोपालप्रसाद गैरेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरे र साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य दिनुभएको थियो।

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कवि तथा गीतकार गंगासागर पन्तले कविता वाचन गर्नुभएको थियो भने डा. लेखप्रसाद निरौला र कवि यादव भट्टराईले पनि आ–आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो।

दायित्व बाङमय प्रतिष्ठानले लामो समयदेखि साहित्यिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको र साहित्यकारद्वारा लिखित पुस्तक प्रकाशन गरी महत्वपूर्ण सहयोगजस्ता कामहरू गरेका कारण पनि राज्यले नै बुढानीलकण्ठ नगरपालिका क्षेत्र स्पेशलचोक भित्रभूमि र भवन बनाउन आर्थिक सहयोग गरेको थियो। बुढानीलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रमा बनेको साहित्यिक भवन र पुस्तकालयले आफ्नो क्षेत्रलाई गौरवका रुपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्