नवौं विश्व रेन्जर सम्मेलन चितवनमा शुरू



नेपाल समाचारपत्र, काठमाडौं।

वन, वन्यजन्तु, जैविक विविधता र प्राकृतिक स्रोतको संरक्षणमा हातेमालो गर्न विभिन्न ७२ मुलुकका रेञ्जर चितवनमा भेला भएका छन्। वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय रेन्जर फेडेरेसन (आईआरएफ) को आयोजनामा शुरु भएको विश्व रेञ्जर सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका हुन्।

चितवनको सौराहमा जारी पाँचदिने सम्मेलनमा साढे पाँच सय बढी सरकारी अधिकारी, विज्ञ, नीति निर्माता र संरक्षण साझेदार सहभागी भएका वन मन्त्रालयले जनाएको छ।

नवौं विश्व सम्मेलनको मंगलबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो। बढ्दो पूर्वाधार निर्माणको तिव्रता र अन्य मानवीय गतिविधिका कारण वन र जैविक विविधता संरक्षणमा चुनौती बढ्दै गएको उहाँले बताउनुभयो।

वन्यजन्तु, वन पैदावरको चोरी शिकार र अवैध व्यापार पनि समस्याका रुपमा रहेको दाहालको भनाइ थियो। यस्ता चुनौतीलाई चिर्ने रणनीति तय उहाँले वन विज्ञलाई आग्रह गर्नुभयो।

सन् १९९५ मा पहिलोपटक आयोजना भएको सम्मेलन तीन/तीन वर्षको अन्तरमा युरोप, अफ्रिका र अमेरिकामा हुँदै आएको थियो। यस अघिको आठौं सम्मेलन अमेरिकाको कोलोराडोमा भएकोमा नवौं सम्मेलन पहिलो पटक एसियामा भएको वन मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो।

प्रविधि र अनुसन्धानको क्षेत्रमा नेपालले धेरै कुरा सिक्न बाँकी भएकाले चितवन जमघट महत्वपूर्ण हुने उहाँको विश्वास छ। नेपालले सामुदायिक वन र वन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रण र दुर्लभ जन्तुको संख्या सुधारमा प्राप्त गरिरहेको सफलता विदेशीका लागि उदाहरणीय बन्ने ढकालले बताउनुभयो।

सम्मेलनका सहभागीले आ–आफ्ना मुलुकमा भएका वन, वन्यजन्तु र वन्यजन्तुका प्रजाति अनुसन्धान, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा भएका प्रयास बारेका कार्यपत्र प्रस्तुत गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्