भारतको कदमविरुद्ध प्रदर्शन



डोटी, (नेस)।

भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लामा मंगलबार कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ’, कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटी कोषाध्यक्ष केशवनाथ योगीले भन्नुभयो– ‘यसको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं, हाम्रो भूमि फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने छौं।’

भारतले नेपाली भूमिलाई अतिक्रमण गरेर पटक–पटक नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि हस्तक्षेपको प्रयत्न गरिरहेको उहाँले बताउनुभयो।
भारतले जम्मु, कस्मिर र लद्दाखलाई केन्द्र सरकारको मातहतमा ल्याएसँगै केही दिनअघि आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो, जसमा नेपालको पश्चिमी सीमाना दार्चुलामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा देखाएपछि नेपालमा तीव्र आक्रोश उठिरहेको छ।

यस्तै सम्पूर्ण डोटेलीहरूका तर्फबाट जिल्ला सदरमुकाम सिलगढीमा पनि भारतविरुद्ध प्रदर्शन भएको छ। युवा विद्यार्थीहरूको सहभागितामा भारतले गरेको हस्तक्षेपका विरुद्धमा नाराबाजी गर्दै आफ्नो सीमाको सुरक्षा गर्न सरकारलाई खबरदारीसमेत गरिएको युवाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्