बुलबुल आँधीका कारण १३ जनाको मृत्यु



ढाका, (एजेन्सी)।

बंगलादेश र भारतका समुद्री तटमा आएको बुलबुल नामक समुद्री आँधीका कारण कम्तीमा १३ जना मानिसको ज्यान जानुका साथै अन्य २० लाख भन्दा बढि आफ्ना घर छाडेर अन्य सुरक्षित शिविरमा रात काट्न बाध्य भएका छन्।

१ सय २० किमि प्रतिघण्टाको वेगले आएको सो आँधीका कारण थुप्रै व्यक्ति घाइते हुनाको साथै अन्य हजारौं भवन क्षतिग्रस्त भएका छन्।

मर्ने ६ जना बंगलादेशी नागरिक मध्ये ५ जनालाई ढलेका रुखले किचेको प्रहरीले सोमबार जनाएको छ।

सकारी अधिकारीले समयमै सतर्कता अपनाएर मानिसलाई सुरक्षित गन्तव्यतर्फ लगिएकाले अन्य मानवीय क्षति हुन नपाएको बताएका छन्। यो आँधी विस्तारै कमजोर हुँदै गइरहेको बताइएको छ।

त्यसैगरी बुलबुलकै कारण भारतको पश्चिम बंगालमा सातजना मानिसको ज्यान गएको सो राज्यको दैवी प्रकोप वयवस्थापन मन्त्रालयले पत्रकारलाई बताएका छन्। बंगलादेशमा रुखले किचिएर मर्नेमा एकजना ५२ वर्षीया महिला पनि रहेकी छिन्।

खतराको चेतावनी बेवास्ता गरेकै कारण एक ६० वर्षीय माझीले पनि ज्यान गुमाउनु परेको छ। बंगलादेशको भोला जिल्लाका एकजना सरकारी अधिकारीले ३० जना भन्दा बढी पुरुष चढेको दुई वटा माछा मार्ने डुंगा गन्तव्यमा नफर्केकोमा चिन्ता बढिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले कोकस बजार जिल्लामा रहेको सेन्ट मार्टिन टापुमा करिब १ हजार २ सयभन्दा बढी पर्यटक फसेको बताएका छन्।

अधिकांश बंगलादेशी नै रहेको सो समूहलाई उद्धार गरिने ती अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्