मत र मतदानका कुरा



आजको राजनीतिमा विशुद्धताको सामाजिक संस्कार बिगारिएको छ। पारदर्शितामाथि हिलो छ्यापेर, नदेखिने ऐनामा अनुहार हेरिँदै छ। इमानदारिता र सामाजिक मूल्य मान्यतालाई मारिएको छ।

के बिग्रियो, को बिग्रियो भन्दाभन्दै स्वयं बिग्रिएको र आफ्नै कारण आफ्ना मत मिल्नेहरू टाढिएको, मतदान गर्नेहरू चिढिएको र मदतानको अपमान गरिएको परिदृश्यवरिपरि आजको राजनीति डुलेको छ।

बिग्रेको, बिगारिएको र बदनाम भएको राजनीतिमा असल, इमानदार र नैतिक चरित्र भएका मान्छेहरूको उपस्थिति पातलिँदै छ। ढाँट्न जान्ने, छल्न, छलाउन र कपटी कुराको जोहो गर्नेहरू राजनीतिमा तिनिक्कि तानिएका देखिन्छन्। आपूुलाई औधी चलाख ठान्नेहरू जो अरूको इज्जत पनि गर्दैनन् र आफ्नो इज्जतको पनि मतलब राख्दैनन्, उनीहरू आजको राजनीतिमा छन् भन्ने आम इमानदार मान्छेका मनसपटलमा छ।

कारण आजको राजनीति समाज परिवर्तनका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ र त्यसको साथमा अहंकारी मान्छे बनाउने थातथलो मानिएको छ। उनीहरूको कमाइ खाने भाँडो बनाइएको छ। राजनीतिमा जति फोहोरी मान्छेहरू पनि अटाउँछन् भन्ने जनमानसमा छर्लंग देखिने गरी भान परेको छ।

गलत काम गर्नेहरूको संरक्षण थलो राजनीति बन्यो। देशको नेतृत्वमा भ्रष्ट, बदनामी र बेइमानी नेताहरूको बाहुल्यता बढ्यो। नेपाली राजनीतिको बेथिति यहाँभन्दा पर खोज्नुपर्दैन। यो घटेन, मौलाउँदै गयो। जनता र जनमतको अवमूल्यन हुँदै गयो।

आज कुनै पनि राजनीतिक पार्टीमा असल नेता भेट्टाउन गाह्रो छ। असल नेता र नेतृत्वमा इमानदारिता, निडरता, आदर्शता, वास्तविकता र बौद्धिकता हुनुपर्ने हो। यसो हुनुको साटो अधिकांश नेताहरूमा अवसरवाद, अतिवाद, अराजकतावाद, गैरजिम्मेवारीपन र भ्रष्टता उच्चतम विन्दुमा उछालिएको छ।

राजनीतिमा नैतिक तवरले ‘वैचारिक इमानदारिता’ हराउँदै गैरहेको छ। यो अतिवादको राजनीतिले अराजकतावाद र गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको छ। जनताको मत र लोकतन्त्रको उपहास गर्दै एउटा ठूलो राष्ट्रको आशीर्वादमा देश र जनतामा हदसम्मको अमानवीय संकट उत्पन्न भएको छ।

केही यस्ता भए, जसमाथि देश र जनताले आशा राखे भने त्यो जनताको सोझो आशा अपेक्षामा सीधै दाग लगाएर उनै नेतृत्वबाट बदमासी एकपछि अर्को भइरहेको छ।
हामीले देशमा विकास खोज्यौं। सामाजिक मूल्य मान्यतासहितको राज्य व्यवस्थाको परिकल्पना गर्यौं। जनमतको कदर, मतको सुरक्षण र मतदानको औचित्यपूर्ण हिसाब खोज्यौं।

लोकतन्त्रको पनि अझै परिस्कृत, परिमार्जित र युग अनुकूलको व्यवस्था गणतन्त्र हो भन्ने मानसिकताले यो व्यवस्था स्वीकार पनि गर्यौं। तर विडम्बना, आकांक्षा र अपेक्षाभन्दा फरक ढंगले व्यवस्था चल्यो। आशातीत चाहना, परिकल्पनासहितको राज्य व्यवस्था धरमराएको देखेपछि गुनासा, तिक्तता र निराशापन आउनु स्वाभाविक हो।

निराशाजनक मानसिकतामा जनता बस्नु त उचित हुँदैन, किनकि जनताको जनबलबाट यो व्यवस्था निर्माण गरिएको हो भने त्यही जनबलले व्यवस्थाभित्रका गलत क्रियाकलापहरू निरुत्साहित गर्दै जाने हो।

तैपनि आन्दोलन, योगदान र बलिदानको सदुपयोग नभई दुरूपयोग भइरहेको हेरेर ठीकका ठीक भनेर कुइनो खुम्च्याउने जमानामा हामी छैनौं। यसको छिनोफानो आवश्यक छ।अर्कोतिर हाम्रो देशका अधिकांश बुद्धिजीवीमा पनि वैचारिक इमानदारिताको कमी देखिन्छ।

हामी नेपाली जनतामा पनि शिक्षा र संस्कारमा ठूलो परिवर्तनको खाँचो छ। राज्यमा नियम कानुनको सम्मान छैन। नीति र विधि बनाइन्छ, बनाइनेबाटै त्यसको उल्लंघन भएको हुन्छ। लोकतन्त्र, मानव अधिकार र नागरिकको वाक् स्वतन्त्रतामाथि हस्तक्षेप हुने कतिपय प्रवृत्तिहरू राज्य सञ्चालकहरूबाट आउने गर्दछन्।

यसले विधिको शासनमाथि आफैं प्रश्नहरू मात्र गरेन, वर्तमान संविधान जसलाई अहिलेको परिवेश अनुकूलको उत्कृष्ट संविधान भन्ने गरिएको छ, त्यसको मूल मर्मलाई प्रहार गरिरहेको छ।

राज्यतहमा पुगेकाहरू त्यसको संरक्षकत्वमा रहनुको साटो आफैंले प्रहार गर्ने गरेको आमनागरिकमा महसुस हुन्छ। तब नागरिक तहबाट पनि कुनै समय प्रहार भयो भने त्यसले अवश्य थाहा दिनेछ। मत, मतदाता र मतदानको अवमूल्यन नेतृत्वबाट भयो र यो अवस्था सिर्जित भयो।

– सुम्निमा काफ्ले,
कंलकी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्