संगीत र फिल्मलाई जापानमा सूर्य अवार्ड



जापानको राजधानी टोकियोमा सूर्य इन्टरनेसनल अवार्ड २०१८ को दोस्रो संस्करण गर्न सूर्य कर्पाेरेसन तयारीमा लागेको छ। जापानमा साकुरा नाईटसँगै विभिन्न कार्यक्रम गर्दै आएको कर्पोरेसनका अध्यक्ष वाशुदेव लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताए।

आगामी नोभेम्बर २३ मा बीच पार्टी र २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्ड गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी गराएका छन्। ‘नेपाली कलाकारको सहभागीतामा हुने अवार्डले यहाँका नेपाली तथा अन्य दर्शकमा पनि उतिकै उत्साह थपेको छ’ तयारीका लागि टोकियोमा रहेका लामिछानेले भने– ‘अवार्डमार्फत थोरै भए पनि नेपाली फिल्मलाई टेवा पुगोस् भन्ने उद्देश्यका साथ यसको शुरुआत गरिएको हो।

यसपटक नेपाली फिल्मकर्मीका साथमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया पनि गर्दै छौँ। यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वास छ।’ यो अवार्ड फिल्म र म्युजिक विधामा रहेर आयोजना गरिँदै आएको छ।

१५ सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुँदै छन्। समारोहमा फिल्मकर्मी नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ भने एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक जना पत्रकारलाई फिल्म पत्रकारिता सम्मान र लोकप्रिय जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिनेछ। अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ भने क्रिटिक्स अवार्डमा निर्देशक, अभिनेता र अभिनेत्रीको विधासमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्