कर्मकाण्डी ब्राह्मणको अभाव र एकादशीको चर्चा



हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। यस दिनमा हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि विष्णुको विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ। विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने यस दिनलाई नेपाली समाजमा महत्वपूर्ण दिनको रूपमा हेरिन्छ।

तर कर्मकाण्ड गर्ने ब्राह्मण (पुरोहित) हरूको अभाव हुँदै गएपछि अन्य धार्मिक कार्यहरूजस्तै तुलसीको विवाह गर्न पनि समस्या भएको पाइएको छ। विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा देशका विभिन्न भूभागमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन्।

ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन्। संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरूले पनि संस्कृत पढन् छाडेपछि देशका विभिन्न जिल्लाहरूमा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणहरूको अभाव हुन थालेको छ।

धर्मशास्त्रका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ। यसरी शयन गरेका भगवान् विष्णु (हरि) लाई ‘उत्तिष्ठोतिष्ठ गोविन्द त्यज निद्रां जगत्पते। त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत्।

अर्थात् हे गोविन्द (विष्णु) भगवान्, हजुरले निद्रा छोडेर उठ्नुपर्यो, किनकि हजुरको सुताइमा संसार नै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत् नै उठ्छ (सक्रिय हुन्छ), अतः हजुर उठ्नुपर्यो। यो मन्त्रले पूजा गरेर भगवान् विष्णुलाई उठाएपछि दामोदर (विष्णु) भगवान्सँग घरअगाडि मठमा सारिएको तुलसीको विवाह गर्ने विधान छ।

अरू एकादशीहरूको भन्दा हरिबोधिनी एकादशीको महत्व बढी भएको धर्मशास्त्रमा उल्लेख गरिएको छ। एकादशी महात्म्यमा वर्णन गरिएअनुसार आषाढ शुक्लपक्षको एकादशीदेखि चतुर्मास्यव्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्ल पक्षको एकादशी व्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरी उक्त व्रत समापन गरिन्छ।

सबै एकादशीभन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यो एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिएको हो। सबै पाप एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। एकादशी व्रतले मन, वचन र कर्मको एकाकार गरी आफ्नो कर्तव्य सबल भएर अगाडि बढ्न सिकाउने हुँदा एकादशीको व्रत लिनुपर्ने धर्माचार्यहरू बताउँछन्।

– दिनेश आचार्य, तीनकुने, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्