डा. केसीको जीवनरक्षाको मागगर्दै सिटी जुलुस प्रदर्शन, तत्काल माग सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी



राम धामी, डडेल्धुरा ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले गत सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन छैटौं दिन डडेल्धुराबासीहरुले सदरमुकाममा वृहत सिटी जुलुस प्रर्दशन गरेका छन् ।

नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेशाकर्मी एवं व्यवसायीक संघ सस्थाहरुको अगुवाइमा सदरमुकामस्थित बसपार्कबाट शनिबार दिउँसो निकालिएको सिटी जुलुस तुफानडाँडा चोकमा पुगेर कोणसभामा परिणत भएको हो ।

कोणसभालाई नागरिक अगुवा तेजबहादुर ऐर, कैलालीका नागरिक अभियन्ता प्रमोद पाठक, डा. केसीको आन्दोलनमा एक्यवद्धता जनाउन राजधानी काठमाण्डौंबाट डडेल्धुरा पुगेका एचआईभी संक्रमित अभियन्ता राजीब काफ्ले र डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले सम्बोधन गरेका थिए ।

कोणसभामा बोल्दै डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष भट्टले सरकारले डा. केसीको आन्दोलनलाई वेवास्ता गरिरहेको बताउदैं तत्काल माग सम्बोधन नगरिएमा अझ कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने चेतावनी दिए । उनले सुदूरपश्चिम प्रदेशको केन्द्रविन्दु डडेल्धुरामा चक्काजाम भएमा सिँगो प्रदेश ठप्प हुने जिकिरगर्दै तत्काल माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

सिटी जुलुसमा सहभागीहरुले सत्याग्रहमा रहेका डा. केसीलाई राखिएको डडेल्धुरा अस्पताल पुगेर नाराबाजी र प्रदर्शन समेत गरेका छन । ‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागी निर्णय गर तथा सत्याग्रही डा. केसीको जीवनको रक्षा गर’ लगायतका नारा लगाएर स्थानीय सडकमा उत्रिएका हुन ।

शुक्रबार मात्रै व्यवसायीक तथा पेशागत संघ संस्थाहरुले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । बिहीबारदेखि डडेल्धुरा सदरमुकाममा डा. केसीको समर्थनमा दिनहु प्रदर्शन भइरहेको छ ।

स्थानीय अगुवाहरुका साथै डडेल्धुराका ग्रामीण क्षेत्रबाट पनि दिनहु आन्दोलनका कार्यक्रममा सहभागिता बढ्दो छ । डडेल्धुराबाहेक सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाका नागरिकहरुसमेत डडेल्धुरा पुगेर डा. केसीको आन्दोलनमा एक्यवद्धता जनाईरहेका छन ।

डा. केसीको समर्थनमा डडेल्धुरामा भईरहेको आन्दोलन अझ कडा हुने नागरिक समाज डडेल्धुराका प्रवक्ता पत्रकार टेकराज अवस्थीले जानकारी दिए । “हालसम्म शान्तिपुर्ण रुपमा सरकारलाई दबाब दिईरहेका छौ ।” उनले भने,“तर सरकारले सुनवाई नगरेकाले आईतबारदेखि कडा आन्दोलनमा जाने तयारी भईरहेकोछ । उनले डडेल्धुरा बजारका साथै सुदूरपश्चिम प्रदेशकै यातायात ठप्प पारेर सरकारलाई दबाब दिने अबस्था सिर्जना भईरहेको दाबीगरे ।

अत्यन्तै चिसोठाँउमा सत्याग्रहमा बस्दा डा. केसीको स्वास्थ्यमा समस्या थपिदैं गएको छ । निजी घरमा सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि पाँचौ दिन शुक्रबार बेलुकीदेखि डा. केसीलाई डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताल भर्ना गरिएको र अस्पतालमा प्रयाप्त श्रोत साधन अभाव रहेकाले असमान्य अबस्था सिर्जना हुने बित्तिक्कै रिफर गर्नुपर्ने देखिएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए । उनले सत्याग्रही डा. केसीको पिसाबमा संक्रमण बढ्दै गएको र रक्तचाप न्युन हुँदै गएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्