मध्यपुरका मेयरको दादागिरी: तीन महिनामा तीन पटक बिदेश भ्रमण

कार्यकारी पनि टिकेनन्ः गलत काम भन्दा सरुवा रोजे बरालले



न्युज अफ नेपाल, भक्तपुर ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको दादागिरीका कारण नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतहरु समेत टिक्न नसक्ने भएका छन् । अबैधानिक र नियम विपरित आफु खुशी विकासका नाममा गरेको गत बर्षको २ करोड ५१ लाखको खर्च अनुमोदन गराउने बिषयले मेयर श्रेष्ठ अख्तियारको फन्दामा पर्ने देखिएको छ ।

यहि विवादका कारण तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीसँग हात हालाहालको स्थितीबाट शुरु भएको श्रेष्ठको दादागिरी बिश्वराज मरासिनीसम्म आइपुग्दा समेत रोकिएको छैन् । यद्यपी नियम विपरित गरिएको गत बर्षको उक्त खर्च शिर्षक नगर परिषद् र नगर कार्यपालिकाबाट मेयर श्रेष्ठले पारित गराउन त सकेका छैनन् नै कार्यकारी मार्फत भुक्तानी लिन खोजेपनि ज्ञवालीपछि आएका कुनैपनि प्रमुख कार्यकारी अधिकृतले पनि भुक्तानी दिएका छैनन् ।

मेयर श्रेष्ठकै रोजाईमा मध्यपुर नगरपालिकामा सरुवा भई आएका प्रमुख कार्यकारी अधिकृत महेश बरालले पनि उक्त रकम भुक्तानी दिन नमानेपछि मेयर श्रेष्ठ र बरालबीचको सम्बन्ध पनि चिसिएको थियो । सोही कारण आफु फस्ने काम नगर्ने भन्दै बराल गत कार्तिक ७ गते सरुवा भई गएका छन् । एकसाता अघि मात्र विश्वराज मरासिनी प्रमुख कार्यकारीको जिम्मेवारी लिएर नगरपालिकामा आएका छन् । तर, उनले पनि मेयरको दादागिरीका कारण आफु पनि टिक्न नसक्ने अवस्था आएको बताउन थालेको एक कर्मचारीले बताए ।

नगरपालिका प्रमुख श्रेष्ठ नगरपालिकाको काम गर्नमा भन्दा बिदेश घुमेर रमाउनमै व्यस्त हुन्छन् । उनी अहिले बेलायतमा छन् । गत कार्तिक १६ गते बेलायत उडेका श्रेष्ठ १५ दिन उतै रमाउने तालिका छ । नगरपालिकाका प्रमुखहरु बिदेश जाँदा कार्यपालिकामा जानकारी गराउने र पराराष्ट्र मन्त्रालयमा बिदेश जानुपर्नाको उचित कारण र उद्देश्य पुष्टि गरेर जानुपर्ने नियम छ । तर, नगर कार्यपालिका सदस्यहरुलाई मेयरको भ्रमणसम्बन्धी कुनै जानकारी नभएको बताउँछन् नगरपालिका प्रवक्ता राम थापामगर ।

यसअघि पनि असोज ७ गते वातावरण र फोहोरमैलाको कार्यक्रमका लागि भन्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बरालसहित एक हप्ताका लागि जापान उडेका छन् । भदौको दोस्रो साता वातावरण र फोहोरमैलाकै कार्यक्रमका नाममा एक्लै १० दिन नेदरल्याण्ड घुमेर फर्किएका थिए । भदौदेखी कार्तिकसम्मको तीन महिनाको अवधिमा श्रेष्ठले एक महिना बिदेशमै बिताएका छन् ।

वडा नं. २ का अध्यक्षसमेत रहेका प्रवक्ता थापामगरले नगर प्रमुखको कार्यशैलीका कारण नगरपालिकाको अवस्था दयनीय बन्दै गएको बताए । उनले गत असोज ३ गते दुई पक्ष कांग्रेस र नेकपाका जनप्रतिनिधिबीच सहमती कायम गरेर पारित गरेको नीति, योजना, कार्यक्रम र बजेट अहिले कार्यान्वयनमा आउन नसकेको समेत बताए ।

नगरपालिकाका मेयर श्रेष्ठ र कांग्रेसका जनप्रतिनिधिबीचको विवाद अहिले फेरी चर्किएको छ । नगरसभाले १ अर्ब ६२ करोड ९५ लाखको बजेट पारित गरेपनि मेयर श्रेष्ठको मनोमानीका कारण मेयरसँग कांग्रेसका वडा अध्यक्ष र जनप्रतिनिधिबीचको विवाद पुनः चर्किन थालेपनि पारित योजना, बजेट र कार्यक्रमहरु कार्यान्वयन नहुने अवस्था देखिएको हो ।

कमेरोटार जग्गा एकिकरण आयोजनामा ६ महिनादेखी प्रमुख विहिन भइरहेको अवस्था थियो तर, श्रेष्ठले आफु बेलायत जानुअघि आयोजनाको काम ठप्प भएको भन्दै आयोजना प्रमुखबाट बर्खास्त गरिएका सत्यसुन्दर श्रेष्ठलाई पुनः आयोजना प्रमुख तोकेर हिडेका छन् ।

प्रमुख कार्यकारी अधिकृत मरासिनीलाई आयोजना प्रमुख तोकेर पत्र काट्न निर्देशन दिए पनि उनले कार्यपालिकाको निर्णय विपरित पत्र नलेख्ने जवाफ दिएपछि आफैले हस्ताक्षर गरेर श्रेष्ठलाई आयोजना प्रमुख तोकेर हिडेका छन् । यहि बिषयले पनि उनी फर्केपछि ठुलो विवाद सिर्जना हुने वडा अध्यक्ष थापामगरको भनाई छ ।

मेयर र कांग्रेसका जनप्रतिनिधीबीच नगरसभाबाट पारित सबै योजना तथा कार्यक्रमहरु नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर मात्र गर्ने सहमती भएपनि श्रेष्ठको पुरानै शैलीको पुनरावृत्ति शुरु भएको जनप्रतिनिधिहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्