मुलखर्क भिमसेनस्थाना सांस्कृतिक महोत्सव



मोतीराम तिमल्सिना, काभ्रे ।

भुम्लु गाउँपालिका वडा नम्वर १ सापिङ्गमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा प्रथम मुलखर्क भिमसेनस्थान सांस्कृतिक महोत्सव २०७६ को आयोजना गरिएको छ ।

महोत्सवको प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नु भयो । सोहि कार्यक्रममा बोल्दै मन्त्री लामाले स्थानीय पर्यटन प्रर्वद्धनका लागि स्थानीय उत्पादन बृद्धी गर्नु पर्ने बताउनु भयो । स्थानीय उत्पादन बृद्धी गरी आयआर्जन बढाउन मन्त्री लामाले अनुरोध गर्नु भयो ।

कार्यक्रममा प्रदेश सासंद लक्ष्मण लम्सालले धार्मिक पर्यटकहरुसँगै आन्तरिक र बाह्य पर्यटकहरुका लागि मुलखर्क भिमसेनस्थान ऐतिहासिक हुने बताउनु भयो । स्थानीय उत्पादन बृद्धीका लागि पनि पर्यटकहरुको आगमन आवश्यक भएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले बताउनु भयो ।

कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ, वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुले भुम्लु गाउँपालिकाको सापिङ्गमा रहेको धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नु पर्ने बताउनु भयो ।

संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न निकायबाट उक्त क्षेत्रको पुर्वाधार निर्माणका लागि १ करोड रकम विनियोजन गरेका छन् । ‘गाउँपालिकाले उक्त क्षेत्रको विकासका लागि डिपिआर तयार गरिसकेको छ’–अध्यक्ष गुमानध्वज कँुवरले बताउनु भयो–‘सापिङ्गको उक्त क्षेत्र धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गरिनेछ ।’ भुम्लु गाउँपालिकाको शिरमा रहेको सापिङ्गको टुप्पो डाँडामा भिमसेनका अलावा गणेशको मन्दिर रहेको छ । हरेक वर्ष ठुली एकादशीको दिन मेला लाग्ने प्रचलन छ ।

चौरीदेउराली गाउँपालिका, रामेछाप जिल्ला, सिन्धुपाल्चोक जिल्लाबाट समेत भक्तजनहरु उक्त जात्रामा मेला भर्न आउने गरेका छन् । बाजागाजा, विभिन्न जातका झाँकीहरु सहित भिमसेन स्थानमा प्रर्दशन हुँदै आएको छ ।

भिमसेनस्थानले चिताएको कुरा पुरा गर्ने, सन्तान नभएका दम्पतीहरु पुगेमा सन्तान हुने, संकटको बेला भिमसेनलाई सम्झि पुजा गरेमा काम बन्ने लगायतका किवदन्ति रहेका छन् ।

दुई दिन आयोजना गरिएको महोत्सवमा भुम्लु गाउँपालिकाको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका विषयहरु समेटिएको मूल समारोह समितिका संयोजक अनिलकुमार बुढाथोकीले बताउनु भयो ।

भुम्लुमा रहेको जातिय विविधता, सांस्कृकित एवं धार्मिक अनेकताको विचमा मुलखर्क भिमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्र रहँदै आएको बुढाथोकीले बताउनु भयो । राजधानीबाट ७० किलोमिटर टाढा रहेको उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारले मेहनत गर्नु पर्नेमा जोड दिईएको थियो ।

भिमसेनस्थानबाट सुर्याेदय, सुर्यास्तको सुन्दर दृश्य सहित गणेश, जुगल, गौरीशंकर आदी हिमक्षेत्र, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको भुभागहरुको दृश्यावलोकन गर्न सकिन्छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरुबाट सांस्कृतिक महोत्सवमा प्रस्तुती रहेको छ ।

मौलिक एवं जातीय संस्कृति झल्कने विविध प्रस्तुतीहरु प्रस्तुत गरिनुका साथै स्थानीय उत्पादनहरुको विक्री स्टल, स्थानीय अर्गानिक तयारी खाद्य पदार्थहरुको फुडस्टल समेत समावेश गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकहरुको आगमन बढाउन उक्त महोत्सव फलादयी हुने अपेक्षा गरिएको छ । महोत्सव सफल बनाउन स्थानीय विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरु, मजदुर नेता दिपक, प्राणनाथ न्यौपाने, ताराबहादुर कुँवर, केशव कुँवर, विष्णु महत, प्रेमबहादुर भुुजेल, सुरेशराज गिरी, क्रान्ति आले लगायत थुप्रै ब्यक्ति कृयाशिल रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्