रोजगारदाता र कर्मचारीबीच पारस्परिक निर्भरतामा जोड



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल ब्यापार कर्मचारी संघ युनिकम नेपालको दोस्रो राष्ट्रिय अधिवेशन हेटौंडामा शुक्रवार शुरु भएको छ । सात वटै प्रदेशका ८० भन्दा बढी प्रतिनिधि सम्मिलित अधिवेशन उद्घाटन गर्दै युनियन नेटवर्क इन्टरनेशनल नेपाल काउन्सिल अध्यक्ष शंकर लामिछानेले रोजगारदाता र कर्मचारीबीच पारस्परिक निर्भरता हुनुपर्नेमा जोड दिनुभयो ।

श्रमक्षेत्रको स्वतन्त्र संगठनका रुपमा परिचित युनिकम नेपालले सामाजिक सम्बाद र सामूहिक सौदाबाजीमार्फत् विद्यमान श्रम ऐनको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउँदै उहाँले उद्योग, प्रतिष्ठानमा एकापसको विश्वास बढाउनुपर्ने धारणा राख्नुभयो ।

युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलको सभाध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले श्रम र श्रमिक कुनै दल विशेषको हुन नहुने बताउनुभयो ।

सबै श्रमिक र कर्मचारीका लागि एउटै ट्रेड युनियन काफी हुने बताउँदै उहाँले कामदार र रोजगारदाताबीच सम्बन्ध सुमधुर भएमात्र उद्योग व्यवसाय फस्टाउने धारणा राख्नुभयो । कतिपय श्रम ऐन र सामाजिक सुरक्षा कोषले साना व्यबसायी त्रसित भएको औंल्याउँदै न्यौपानेले उद्योग व्यबसायलाई वर्गीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

युनिकमको अधिवेशनमा ट्रेड युनियनका अभियन्ता बमबहादुर डीसी, उद्योग वाणिज्य महासंघ प्रदेश–१ सदस्य बलराम कार्की, चेम्बर अफ कमर्स मकवानपुर अध्यक्ष विजय श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका यमबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनमा सहभागी जिल्लाका प्रतिनिधिलाई सामाजिक सम्वाद र सामूहिक सौदाबाजीका विषयमा प्रशिक्षण प्रदान गरिएको छ । नेतृत्व विकास गर्दै आआफ्ना क्षेत्रमा विद्यमान श्रम ऐन र सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका निमित्त सहभागीलाई प्रशिक्षण प्रदान गरिएको युनिकम नेपाल अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
युनिकम नेपाल मकवानपुर अध्यक्ष दामोदर पाठकले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि केन्द्रीय उपाध्यक्ष एलएन दाहालले प्रकाश पार्नुभएको थियो । (फोटो)

प्रतिक्रिया दिनुहोस्