रामेछापमा प्रधानमन्त्रीको राजिनामा माग



रामचन्द्र वि.क, रामेछाप ।

भारतले नेपालको भूभाग आफ्नो नक्सामा राखेर निकाल्दा समेत केपी ओली नेतृत्वको सरकार मौन बसको भन्दै रामेछापमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनाम माग गरिएको छ । देशैभर जनताले आवाज उठाउँदा समेत सरकार मौन बसको भन्दै शुक्रबार साँझ नेविसंघ रामेछापले प्रधानमन्त्रीको राजिनामा माग गर्दै सरकार विरुद्धै नारा लगाएको हो । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा ‘भारतिय हस्तक्षेपको विरुद्ध विरोध र्‍याली’ लेखिएको कालो ब्यानर सहित ‘ओलीको राष्ट्रबाद हेरियो देशकै नक्सा फेरियो’, ‘केपी ओलीको राष्ट्रबाद भारतसँग लम्पसरबाद’ जस्ता नारा लगाउँदै नेविसंघले मन्थली बजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमा पछि देवकोटा चोकमा बिरोध र्‍यालीलाई सम्बोधन गर्दै नेविसंघ रामेछाप प्रदेशसभा ‘ख’ का सभापति उत्तम कार्कीले भारतले नेपालको नक्सालाई आफ्नो भूमीमा राखेर नक्सा सार्वजनिक गर्दा समेत केपी ओली नेतृत्वको सरकार मौन बसेको भन्दै सरकारकै विरुद्धमा आफूहरु नारा लगाउन बाध्य भएको बताउनुभयो ।

सभापति कार्कीले भारतले तत्काल नेपालको भूमी सहित सार्वजनिक गरेको नयाँ नक्सा नसच्याए काग्रेसको एउटा संगठन मात्रै नभई तीन करोड जनता नै भारतको विरुद्धमा उत्रने चेतावनी समेत दिनुभयो । विरोध र्‍यालीमा नेविसंघ, नेपाल तरुण दल, महिला संघ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्