सरकार गम्भीर नभए आन्दोलन गर्ने चेतावनी



यमलाल भुसाल, बुटवल ।

भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भू–भाग अतिक्रमित भएको भन्दै तत्काल भारतीय समकक्षीसँग कूटनीतिक वार्ता गरी समस्याको समाधान निकाल्न सरकार गम्भीर हुनुपर्नेमा एक कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका छन्।

ऐतिहासिक कालदेखिका तथ्यांक प्रस्तुत गरी, भारत सरकारसँग अबिलम्ब वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न नेपाल सरकार जिम्मेवारी र गम्भीररूपमा लाग्न वक्ताहरूले माग गरेका छन्।

रिपोटर्स क्लब प्रदेश पाँचले बिहिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्नेहरूले राष्ट्रियता महत्व भएको विषयमा सरकार गम्भीर नभए सरकार विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

कार्यक्रममा सीमा जानकार तथा नेकपाका नेता साध्यबहादुर भण्डारीले लिपुलेकदेखि लिम्पियाधुरासम्म ३७ हजार २ सय हेक्टर जमिन रहेको र भारतले नियतबस नेपाली भू–भाग अतिक्रमण गरेकाले सरकारले कूटनीतिकरूपमा पहल गरी नक्शाबाट हटाउन लगाउनुपर्ने बताउनु भयो।

उहाँले भारतले लिपुलेख मात्र नभई सुस्ता,गण्डाचोकलगायतका ५३ स्थानमा नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै दुई तिहाईको सरकारले सप्रमाण भारतसँग कूटनीतिक वार्ता गर्न आग्रह गर्नुभयो।

सरकारले सूर्यनाथ उपाध्याय र ईपीजीओको प्रतिवेदन सार्वजनिक गरी भारतसँग कूटनैतिक सम्बन्ध र क्षमता भएका व्यक्तिको समूहलाई प्रयोग गरेर भए पनि समाधान निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो।

भारतले अन्तर्राष्ट्रियरूपमा छबी राम्रो देखाउन पनि नक्शालाई परिवर्तन गर्न जरुरी रहेको नेता भण्डारीले बताउनुभयो।

कार्यक्रममा प्राध्यापक दिल शाहनीले सरकारले जिम्मेवारीपूर्वक कूटनीतिकरूपमा पहल गर्नुपर्ने भन्दै त्यती गर्दा पनि भारतीय सरकारले नसुने अन्तर्राष्ट्रियरूपमा ऐजेन्डा बनाउनुपर्ने बताउनुभयो ।

अधिवक्ता महेन्द्र पाण्डेले नेपाली भूिम अतिक्रमण राष्ट्रियताको विषय भएकाले कूटनीतिकरूपमा पहल गरी समाधान निकाल्नु पर्ने भन्दै सरकार गम्भीर हुन जरुरी रहेको औल्याउनुभयो।

लेखक ऋषि आजादले सरकार यस विषयमा खुट्टा नकमाई भारतीय समकक्षीसँग कूटनीतिक पहल गरी समाधानका वार्ता गर्नुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्