शिशिर वसन्तको कथामा पपेट



कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा लोकप्रिय नेपाली लोककथा ‘शिशिर वसन्तको कथा’ मा पपेट नाटक मञ्चन भएको छ। जापानी पपेट निर्देशकको साथमा भएको १० दिने पपेट थिएटरको कार्यशालाले सो नाटक तयार पारेको हो।

जापानको उटरभिजन थिएटर कम्पनीको सहकार्यमा थिएटर मलले गरेको कार्यशालामा शिशिर वसन्तको कथाका मुख्य मुख्य पात्रहरूको पपेट डिजाइन गरी नाटक तयार पारेको हो।

जापानमा प्रचलित तीन जनाले संयुक्त सन्तुलनमा चलाउने पपेटमार्फत शिशिर वसन्तको कथालाई मञ्चन गरिएको हो।

उटरभिजनका कला निर्देशक इरिना सजीको निर्देशनमा सञ्चालित कार्यशालामा १२ रंगकर्मी र ९ स्कुले बालबालिका सहभागी थिए।

उनीहरूले १० दिवसीय कार्यशालाको सय घन्टामा पपेट पात्र निर्माणदेखि सञ्चालनसम्मको अभ्यास गर्दै पपेट नाटक मञ्चन गरेका हुन्।

कार्यशालाको समापनमा आयोजना गरिएको पपेट नाटक मञ्चनमा शिशिर वसन्तको कथासँगै अन्य दुई छोटो पपेट प्रस्तुति पनि मञ्चन गरिएको थियो। जसमा सेक्सपियरको ‘एज यु लाइक इट’ र नेपाली लोककथा ‘सेल रोटी’ लाई पपेट पात्रमार्फत मञ्चन गरिएको हो।

यसै कार्यशालासँगै थिएटर मलले पपेट थिएटरलाई अझै निपूर्ण र आफ्नो शैली बनाउन ‘नेपाल पपेट थिएटर’ शुरू गरेको कला निर्देशक केदार श्रेष्ठले बताए। यो समूहले निरन्तर अभ्यास र परिकल्पना गर्दै पपेट विधालाई नेपाली रंगमञ्चमा निरन्तरता दिने उनले उल्लेख गरे।

थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कुल र आसितेज नेपालको सहकार्यसहित आयोजित कार्यशालामा इरिनाको साथमा एरी तोमोई, इजावा रेई र मियामोतोको जापानी कलाकारहरू थिए।

कार्यशालामा इलिना नकर्मी, सञ्जिता पराजुली, सवीर चुरौटे, शंकर भण्डारी, सुजिता महर्जन, प्रशान्त श्रेष्ठ, क्षितिज पराजुली, मनीष व्यन्जू, मदन श्रेष्ठ, सरोज राई, हीरा महर्जन, पूजा ढकालले पपेट थिएटरको अभ्यास गरेका थिए।

त्यस्तै स्कुले बालबालिकामा सहर्षा क्षेत्री, अरविन खड्का, कीर्ति भट्टराई, अनुप पुरी, निपूर्ण पौडेल, असिम त्वनबसु, सहश्राम्सु नेपाल, कलिना पाण्डे, शुभेच्छुक ढुंगाना सहभागी थिए।
प्रस्तुति ः यदुप्रसाद भट्ट

 

प्रतिक्रिया दिनुहोस्