एमसीसीको सानदार प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल भ्रमणमा रहेको लन्डन क्लब मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालविरुद्धको तीन दिने खेलको पहिलो दिन सानदार प्रदर्शन गरेको छ।

बुधबार त्रिवि मैदानमा भएको खेलमा एमसीसीले पहिलो दिनको खेल समाप्तिसम्म ६ विकेटको क्षतिमा ३ सय ११ रन बनायो।

टोलीका लागि ओपन विल रोड्सले सार्वाधिक ७३ रन जोडे भने विल भान्डेसपारले ५३ रन र माइल्स हमान्डले ५२ रनको योगदान दिएका थिए।

टोलीका यासिर अराफत ३५ रनमा र एलेक्स थम्पसन २२ रनमा नटआउट रहँदै नेपाली बलरलाई समस्यामा पारिरहेका थिए।

नेपाली बलरमा सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले २÷२ विकेट लिएका थिए। सोमपालले पहिलो विकेटको रूपमा बिली गुलम्यानलाई छिटै पवेलियन फर्काएर नेपालको लागि राम्रो शुरुआत दिलाएका थिए।

गुलम्यानले १० रन मात्रै बनाएका थिए। यसपछि भने रोड्स र टम वेस्टलीले दोस्रो विकेटका लागि ९५ रन जोडेर १ सय २० रनसम्म पुर्याए। रोड्सको विकेट सोमपालले नै लिएका थिए।

यसपछि शरदले दुई तथा सन्दीपले २ विकेट हात पारे पनि पाहुना टोली निकै बलियो अवस्थामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्