इस्लामिक स्टेटको आक्रमणमा सत्र मारिए



डुसान्बे, (एजेन्सी)।

उज्वेकिस्तानको सिमानामा जोडिएको ताजिकिस्तानको एउटा चेक प्वाइन्टमा इस्लामिक स्टेट (आईएस) लडाकूहरुले हमला गर्दा कम्तिमा १७ जना मानिसको ज्यान गएको ताजिक सरकारी निकायले जनाएको छ।

२० जना लडाकूले स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे शुरुमा एकजना सीमासुरक्षा गार्ड एकजना प्रहरी अधिकृतलाई मारेर आक्रमण शुरु गरेका थिए। तर आईएसले भने यस हमलामा आफ्नो हात रहेको पुष्टि गरेको छैन। प्रहरीले सो क्षेत्रका सडकहरु बन्द गरेको छ।

त्यसैगरी उज्वेक सीमा सुरक्षा निकायले परिस्थितिलाई सूक्ष्मढंगले अध्ययन गरिरहेको छ। ताजिक राजधानी डुसान्वेदेखि ६० किमि दक्षिण पश्चिममा पर्ने स्थानमा भएको यस घटनापछि पाँच जना लडाकूलाई पक्राउ गरिएको छ।

ताजिकिस्तानको गृहमन्त्रालयले सार्वजनिक गरेका घटनास्थलका तस्वीरहरुमा लाशहरु थुप्रै कार वरपर छरिएको अवस्थामा देखिन्छन् भने केही शव जलेका अवस्थामा छन्। सरकारी समाचार निकाय खोभारले ३ नोभेम्बरमा आक्रमणकारीहरु अफगानिस्तानबाट ताजिकिस्तानमा प्रवशे गरेको दावी गरेको छ।

यसै वर्षको अन्त्यसम्ममा सम्झौतापत्रमा हस्ताक्षर हुने गरी लामो समयदेखि चल्दै आएको सीमा विवाद सुल्झाउने बारे ताजिकिस्तान र उज्वेकिस्तानबीच सहमति भएको भोलिपल्टै यो आक्रमण भएको हो।

आईएस लडाकूहरुले विगतमा ताजिकिस्तानमा भएको थुप्रै आक्रमणको जिम्मेवारी लिने गरेका थिए। गत मे महिनामा आईएस लडाकू समूहले डुसान्वेको पूर्वी भागमा रहेको एउटा कारागारमा भएको दंगामा दर्जनौं व्यक्तिको ज्यान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्