पुसमा औद्योगिक व्यापार मेला



नेपाल समाचारपत्र, बुटवल।

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाअन्तर्गत २०औं संस्करणको ‘औद्योगिक व्यापार मेला–२०७६’ आगामी पुसको ९ गतेदेखि हुने भएको छ।

मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका– ११ देवीनगरस्थित एन्फा एकेडेमीको उत्तर पश्चिम, ड्राईभिङ ट्रायल सेन्टरको उत्तरतर्फको खाली जग्गामा बुटवल नगरपालिकाले स्वीकृति दिएको छ।

संघले नियमित रुपमा गर्दै आएको स्थान बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको काम शुरु भएकाले उक्त स्थानमा मेला सञ्चालन गर्न नमिलेका कारण वडाको सिफारिसमा नगरपालिकाले देवीनगरमा मेला सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो।

मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघले यस अगाडि नै मेलाको मिति पुसको ९ गतेदेखि २३ गतेलाई निर्धारण गरिसकेको थियो। सोही अनुसार संघले तयारीका काम अगाडी बढाएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले बताउनुभयो।

स्थान एकीन नभएकाले तयारीका काम गर्नका लागि समय ढिला भएको बताउँदै मेला स्थल निर्धारण भएकाले अब बाँकी तयारीका काम द्रुत गतिमा अगाडी बढाइने संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनुभयो।

औद्योगिक उत्पादन र उपभोक्ताबीच पुलको रुपमा स्थापित उक्त मेलालाई विगतका भन्दा अझै स्तरीय बनाउने गरी तयारीका काम भइरहेको संघले जनाएको छ।मेला सञ्चालनको स्थान पनि नयाँ भएको र नयाँ ढंगले मेला सञ्चालन गर्ने गरी तयारीलाई मूर्त बनाइने छ।

मेलामा राखिने सबै प्रकारका सामानहरू गुणस्तरीय हुने गरी व्यवस्थापन गरिने तथा मेला स्थलसमेत सोही अनुसार आकर्षक बनाउने संघले तयारी गरेको छ।

मेला सचिवालय बुटवल उद्योग बाणिज्य संघको भवन आकृतिमा र मुलद्वार ऐतिहासिक जीतगढी किल्लाको स्वरुपमा निर्माण गर्ने तयारी भएको संघका महासचिव श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्