झिनो अंकले नेप्सेमा गिरावट



नेपाल समाचारपत्र, काठमाडौं।

साताको तेस्रो दिन मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट भएको छ। सोमबार नेप्से ०.९७ अंकले बढेकोमा आज ०.८१ अंकले घटेर ११३९.४५ बिन्दूमा झरेको छ।

यस दिन कुल १६२ वटा कम्पनीको १० लाख ५८ हजार कित्ता शेयर २८ करोड ४४ लाख रुपियाँभन्दा बढीमा किनबेच भएको छ।मंगलबार कारोबारमा आएका समूहमध्ये बैंकिङ, उत्पादन, लघुवित्त र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह घटेका छन्।

यस दिनको कारोबारमा प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ। यस बैंकको करिब तीन करोड रुपियाँको कारोबार भएको छ। समग्र परिसूचकमा गिरावट भएको दिन ग्लोबल आइएमई समुत्थान योजनाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यसको शेयर मूल्य १० प्रतिशतले बढेको छ। तर, सिनर्जी पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। यसैबीच नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषयमा लगानीकर्ताले चासो दिएका छन्।

बजारलाई सही दिशा प्रदान गर्न सक्ने नेतृत्व चयन हुनुपर्नेमा शेयर लगानीकर्ता दबाब समूहले जोड दिएको छ।दबाब समूहले प्रेस विज्ञप्ति जारी गरी नयाँ अध्यक्ष पुँजी बजारसँग सम्बन्धित दक्ष ज्ञान भएको हुनुपर्ने माग गरेको छ।

सुझाब समितिले प्रस्तुत गरेको ५८ बुँदामध्ये कार्यान्वयन हुन बाँकी रहेका लगानीकर्ताका मागलाई कार्यान्वयन गर्न सक्ने हुनपर्नेमा समेत लगानीकर्ताले जोड दिएका छन्।

अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुँजी बजारको नियामक निकायको नेतृत्वविहीन अवस्था धेरै लामो समय रहन नहुने भन्दै दबाब समूहले नियुक्ति प्रक्रियालाई चाँडो टुंग्याउन माग गरेको छ। चार वर्षे कार्यकाल समाप्त भई गत असोज मसान्तमा डा. रेवतबहादुर कार्की पदमुक्त भएसँगै नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ।

प्रतिक्रिया दिनुहोस्