पुलिस अन्नपूर्ण गोल्डकपको सेमिफाइनलमा



नेपाल समाचारपत्र, झापा।

सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबलाई सडन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटर फाइनल खेलमा टाइब्रेकरमा बराबरी भएपछि सडन डेथमा नतिजा निस्केको हो।

जसमा पुलिसले बाजी मार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेको थियो। पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो।

त्यस्तै, एपीएफका लागि सुदीप शिख्रकार, नवीन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए। उनी नियमित गोलरक्षक शत्रुधन चौधरीको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलकोे ३०औं मिनेटमा पाएको फ्रिकिकमा हरि कार्कीले गोल गरेर एपीएफलाई अग्रता दिलाएका थिए। नवीन लामाले गरेको प्रहारमा एपीएफका डिफेन्डर रमेश दंगालको हेड पासमा हरिले पनि हेडमार्फत् गोल गरेका थिए।

पाएका थुप्रै अवसर गोलमा परिणत गर्न नसक्दा पहिलो हाफमा पुलिस १–० ले पछि परेको थियो।
दोस्रो हाफको ३०औं मिनेटमा पुलिसका भोला सिलवालले गोल गरेर खेललाई बराबरीमा पुर्याए। सन्तोष हेमरमको पासलाई एपीएफका दुई डिफेन्डरलाई छल्याएर भोलाले गोल गरेका हुन्।

नियमित खेलाडी निरकुमार राईलाई खेलको ४६औं मिनेटमा परिवर्तन गर्दै भोला मैदान प्रवेश गरेका थिए। १–० गोलले पछि परेको अवस्थालाई उल्टाएर जित नजिक पुर्यएका पुलिसका भोला सिलवाल खेलको नायक साबित भए। उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार पाउन सफल भए।

प्रतिक्रिया दिनुहोस्