स्थानीय सरकारको मनोमानी : चुलाचुली गापाद्वारा आफूखुसी बजेट विनियोजन



गणेश घिमिरे, इलाम।

जिल्लाको चुलाचुली गाउँपालिकाले मनलाग्दी बजेट बिनियोजन गर्ने गरेको पाइएको छ। गाउँपालिकाभित्रका विकासे योजनामा आफुखुसी बजेट बाँड्ने र सार्वजनिक सुुनवाइसमेत रीत नपुर्याईकन गर्ने गरेको पाइएको हो।

चुलाचुलीका नेपाली कांग्रेसका स्थानीय नेता राजेन्द्र केरुङले, गाउँपालिकाले आफ्नै अनुकूलताअनुसार सार्वजिनक सुनुवाइ गर्ने गरेको खुलासा गर्नुभएको हो।गाउँपालिकामा आएको बजेट कुन कुन शीर्षकमा आएको र कति खर्च भएको भन्नेबारेमा गाउँपालिकाबासीलाई हालसम्म थाहा नभएको केरुङको भनाइ छ।

उहाँले गाउँपालिकाले कुनै पनि वडामा हालसम्म सार्वजनिक सुनुवाइ नगरेको र गर्दा पनि पनि गाउँपालिकाको प्रतिनिधिले बजेट पढेर सार्वजनिक गरी कर्मचारीले ताली पड्काएपछि सकाउने गरेको आरोप लगाउनुभयो।

उहाँले सार्वजनिक सुनुवाइ नियम संगत रुपमा गर्नका लागि पटकपटक अध्यक्षलाई ध्यानाकर्षण गराए पनि एकलौटी ढंगले अघि बढेको बताउनुभयो।सूचनाको अधिकारबाट गाउँपालिकाबासी वञ्चित भएको जनाउँदै केरुङले सार्वजनिक सुनुवाइमा राजनीतक दल, पत्रकार, संघसंस्था, सरोकारवाला कसैलाई पनि सहभागी नगराएको बताउनुभयो। वर्षमा तीनपटक सार्वजनिक सुनुवाइ गर्नुपर्छ।

गाउँपालिकाले तीनपटक गरे पनि जनप्रतिनिधि र कर्मचारी राखेर मात्र गर्ने गरेको बताउनुभयो।
गाउँपालिकाले विभिन्न क्षेत्रमा अनियमितता गरेको आरोप लगाउँदै कांग्रेससहित सर्वदलीय पार्टीले २८ बुँदामा असहमति जनाएर पत्र दिएको बताउँदै केरुङले रतुवा खोलाको ढुंगा गिटी बालुवामा अनियमितता बढेको छ।

आईईको रिपोर्टमा एक मिटर मात्र खन्न पाइन्छ। तर चार मिटरसम्म खन्दा पनि स्थानीय सरकार टुलुटुलु बसेर हेरिरहेको केरुङको भनाइ छ।यता, गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले भने गाउँपालिकाबाट केही गल्ती कमजोरी भएको स्वीकार्दै तर मिडियामा आएजस्तो सबै कुरा सही नभएको बताउनुभयो।

उहाँले सार्वजनिक सुनुवाइ सबै सरोकारवालालाई राखेरै गर्ने गरेको दाबी गर्नुभयो। उहाँले रतुवा खोलाको ढुंगा, गिटी बालुवा निकासीका क्रममा दमक नगरपालिका, चुलाचुली गाउँपालिका दुवैले टेन्डर आह्वान गरेर ठेक्का दिएको जनाउँदै दकम नगरपालिकाले लगाएको ठेक्कामा आईई रिपोर्टभन्दा केही बढी उत्खनन गरेको स्वीकार्नुभयो।

उहाँले चुलाचुली गाउँपालिकाले लगाएको ठेक्कामा यस्तो नभएको दाबी गर्नुभयो। यस विषयमा बढी जिम्मेवार दमक नगरपालिका भएकाले चुलाचुली गाउँपालिका चुप लागेर बसेको अध्यक्ष राईको भनाइ छ। अख्तियारले पनि ढुंगा, गिटी, बालुवा उत्खननमा भएको अनियमितताको विषयमा दमक नगरपालिकासंग सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्