स्वर्णिम चलचित्र महोत्सव हुँदै



वीरगन्ज, (नेस)।

वीरगजन्मा ३ दिने स्वर्णिम चलचित्र महोत्सव–२०७६ हुने भएको छ। महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन्।
भोलि बिहीबारदेखि शनिबारसम्म आदर्शनगर रंगशालामा हुने महोत्सवको तयारी तीव्र पारिएको हो।

तराई, पहाड, हिमालको उत्सव भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजक नेपाल चलचित्र निर्माता संघले जनाएको छ।

महोत्सवमा सहभागी हुन बलिउड अभिनेता अभिनेता गोविन्दा नेपाली मूलकी पत्नी सुनीता आहुजाका साथ मंगलबार नेपाल आइपुगेका छन्। उनीसँगै अभिनेतृ निरुता सिंह पनि आइपुगेकी छिन्। उनीहरूलाई निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्वागत गरेका थिए।

गोविन्दाले महोत्सवमा सहभागी हुन पाउनु आफ्ना लागि खुसीको विषय भएको बताएका छन्। फिल्म क्षेत्रको विकासका लागि यो महोत्सव आयोजना गर्न लागिएको चलचित्र निर्माता संघका उपाध्यक्ष विमल पौडेललले जानकारी गराए।

तराई मधेसका कथा र कलाकारलाई समेत नेपाली फिल्ममा समेट्निुपर्छ भन्ने मान्यताका साथ आफूहरूले पहिलो फिल्म महोत्सव वीरगन्जमा गर्न लागेको पौडेलले बताए। स्थानीय कलाकारलाई प्राथमिकताका साथ महोत्सवमा सहभागी गराउने उनको भनाइ छ।

महोत्सव आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग छ। नेपाली फिल्मलाई समयानुकूल, मौलिक एवं देश, काल, परिस्थितिअनुसारको कथा तयार गरी निर्माण गर्न महोत्सव फलदायी हुने महोत्सवको स्थानीय संयोजक नन्दु श्रीवास्तवले बताए।

महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ। प्रदेश सरकारले १० लाख, वीरगन्ज महानगरपालिकाले १५ लाख रुपियाँ र प्रादेशिक पर्यटन प्रवद्र्धन समितिले समेत रकम छुट्याएको छ।

वीरगन्ज महानगरपालिकाको नगरप्रमुख विजयकुमार सरावगीले महोत्सवको सफलताले यस क्षेत्रको भाषा, कला, संस्कृति एवं कलकारलाई देश–विदेशमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए। होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले महोत्वले वीरगन्जको आर्थिक क्षेत्रको विकासमा ठूलो सहयोग प्राप्त हुने बताए।

प्रतिक्रिया दिनुहोस्