नेकपाका कार्यकर्ता पत्रिकाको अफिस जलाउँछौं भन्दै आए, मलाई भने भर्याङ भाँचिने डर थियो



राधा बुढाथोकी
सामाजिक अभियन्ता

राधा बुढाथोकी कुनै बेला नेपाल कम्युनिस्ट पार्टीनिकट रहेर विद्यार्थी राजनीति गर्नुहुन्थ्यो, पछि पत्रकार बन्नुभयो, पत्रकार महासंघको उपसभापति निर्वाचित पनि हुनुभयो। फेरि, नयाँ राजनीतिक दलतिर लाग्नुभयो, पछिल्लोपल्ट आबद्ध रहेको नेपाल समानता पार्टी कांग्रेसमा विलय भएपछि उहाँ कुनै दलतिर देखिनुहुन्न, बरु सामाजिक अभियन्ताका रूपमा सक्रिय देखिनुहुन्छ। आखिर के भन्नुहुन्छ त बुढाथोकी ?


तपाईंलाई राजनीतिज्ञ, पत्रकार, सामाजिक अभियन्ता के भन्ने ?

म कुनै समय राजनीतिक पार्टीको कार्यकर्ता थिएँ। मेरो राजनीति विद्यार्थी राजनीतिबाट शुरू भएको हो। राजनीतिक कार्यकर्ता भएकै कारण म पत्रकारितातिर लाग्न पुगें। पार्टीको मुखपत्र प्रकाशन गर्ने क्रममा पत्रकारिता क्षेत्रमा लागियो, त्यसैले मेरा लागि राजनीति र पत्रकारिता एक–अर्कासित सम्बन्ध राख्छ।

जनताले अहिलेको शासकका केही हर्कतहरूलाई हिजोको पञ्चायती व्यवस्थासित दाँजेर हेर्दै छन्, त्यो सबैभन्दा दुःखद कुरा हो। सूचना दिने र लिने हकलाई कुण्ठित गरिनुहुँदैन। प्रेस पनि स्वतन्त्रताको नाउँमा स्वच्छन्द हुनुहुँदैन। आचार संहिताको पालना सबैले गर्नुपर्छ। सरकार र शासकको विरोध गर्न नपाउने र गर्न नसक्ने अवस्था निरंकुश र हैकमवाद हो, त्यो दिन नआओस्।

हाम्रो जस्तो समाजमा एउटा सचेत र राजनीतिक गतिविधिमा सक्रिय महिला स्वतः महिला अधिकारकर्मी हुन्छ। समानता स्थापित गर्न चाहनेहरू असमानताका लागि हरेक ठाउँबाट आवाज उठाइरहेका हुन्छन्, न्यायका लागि संघर्षरत हुन्छन्। त्यस सवालमा म आफूलाई पनि महिला अधिकारकर्मी हुँ भन्छु।

त्यसैले संक्षेपमा भन्नुपर्दा यीमध्ये सबै हुँ र यसरी नै प्रतिष्ठापित हुन चाहान्छु। त्यसैले यी सबै क्षेत्रमा मेरो आ–आफ्नो प्रकारको भूमिका थियो र छ। यति बेला म एउटा स्वतन्त्र प्रत्रकार हुँ र राजनीतिक पर्यवेक्षक पनि।

तपाईं पत्रकार महासंघमा उपसभापति भइसकेकी व्यक्ति हुनुहुन्छ, पत्रकारिता जगत्मा कस्तो परिवर्तन देख्नुहुन्छ ?

हजुर, म हरिहर विरहीज्यू सभापति हुँदा निर्वाचित उपसभापति थिएँ। पुतलीसडकको एउटा भाडाको घरमा हाम्रो कार्यालय थियो। सभापति, उपसभापति, महासचिव, कोषाध्यक्ष र सदस्यहरू सबै एकै ठाउँमा बसेर काम गरिन्थ्यो। अहिलेको जस्तो पदीय आधारमा भिन्न कोठाहरू थिएनन्। एउटा बैठक कक्ष थियो। हामीसँग कुनै त्यस्तो अत्याधुनिक प्रविधि पनि थिएनन्।

सभापतिलाई चढ्ने गाडी पनि थिएन। तर, त्यो त्यति बेला हाम्रो महासंघ पत्रकारहरूको संस्थाजस्तो लाग्थ्यो, एक–अर्काप्रतिको आदर बिनाराजनीतिक मतभेद अन्यायमा परेकाका लागि आवाज उठ्थ्यो। आ–आफ्ना राजनीतिक विचारहरू एक ठाउँमा भए तापनि व्यावसायिक हितका लागि एकवद्ध थियौं।

तर अहिले पत्रकार महासंघ एनजीओ आइएनजीओमा लागेको छ, राजनीतिक दलका कार्यकर्ताहरूको संस्थाजस्तो भएको छ। व्यावसायिक हितभन्दा पार्टीको हितका लागि बढी समर्पित भएको महसुस हुन्छ। पदाधिकारीहरू पत्रकारका मतभन्दा पनि राजनीतिक कार्यकर्ताको मतले विजयी भएका छन् भन्ने महसुस हुन्छ।

तपाईं प्रकाशक तथा सम्पादक भएर काम गर्नुभएको व्यक्ति, खास गरी प्रकाशक भएर कमाउनुभयो कि पत्रकार भएर सेवा गर्नुभयो ? केही अविस्मरणीय घटना छन् कि ?

कमाउने उद्देश्यले पत्रकारिताको शुरुआत गरेकै थिइनँ। समाजमा सत्य र तथ्य समाचार सम्प्रेषण गर्ने चाहना थियो र गरें। अनुभव त सबै प्रकारको रह्यो। प्रकाशक भएको हैसियतले आर्थिक जिम्मेवारी बोक्नुपथ्र्यो। कागज, प्रेस कर्मचारीको तलब यी सबै व्यवस्थापन गर्नलाई बिक्री गरेको पैसाले पुग्न गाह्रो हुथ्यो।

पत्रिकाको अर्को आर्थिक स्रोत भनेको विज्ञापन हो। विज्ञापन सधैं हुँदैन थियो। केही मात्रामा सहयोग अवश्य गथ्र्यो। विज्ञापनको अर्को पाटोमा सम्बन्ध र संगत्ले पनि प्रभाव पार्दोरहेछ। महिला भएको कारण त्यो प्रकारको सम्बन्धहरू मबाट अति असम्भव भएका कारण विज्ञापनपको सधंै कमी रहन्थ्यो।

त्यस बेला साँझमा प्रकाशन हुने दुईवटा मात्रै पत्रिका थिए महानगर र नयाँ मोर्चा दैनिक। त्यही कारण आफैं सम्पर्क गरेर आउने विज्ञापनबाहेक अरू खासै हुन्थेन। त्यसैले सधैंै आर्थिक अभावमा पत्रिका प्रकाशन गरिन्थ्यो।

प्रेसमा पैसा तिर्न नपुगेर कहिले गहना बेच्ने कहिले घर–परिवारसँग माग्ने यसरी नै चलाइयो। सम्पादक भएको हैसियतले कहिलेकाहीं डर लाग्दा धम्कीहरू आउँथे। कहिल्यै बिर्सन नसक्ने घटना भनेको वर्तमान राष्ट्रपति विद्या भण्डारी र राधिका शाक्यको समाचार प्रकाशनको थियो।

भण्डारी र शाक्यज्यूको समाचारका बारेमा अलिकति खुलाइदिनुस् न ?

समाचार छापिएपछि तत्कालीन एमालेका कार्यकर्ताहरू कार्यालय घेर्न आए। नयाँ मोर्चाको कार्यालय खिचापोखरीको पुरानो सेतो घरमा थियो। काठको भर्याङ ठाउँ–ठाउँमा प्वाल परेको। मचाहिँ यतिका मान्छे यहाँ उभिँदा यो भर्याङ भाँचियो भने अर्को दुर्घटना होला भनेर डरले थुरथुर भइरहेकी थिएँ। ती कार्यकर्ताहरू तपाईंको कार्यालयमा आगो लगाइदिन्छौं भन्दै थिए।

तर, त्यतातिर मेरो ध्यानै गएको थिएन, खालि भर्याङ भाँचिएला भनेर त्यतैमात्र हेर्दै थिएँ। उहँँहरू एउटा महिला भएर महिलाकै विरुद्धमा यसरी लेख्ने भन्दै हुनुहुन्थ्यो। अन्त्यमा मैले म पनि देश र जनताकै लागि भनेर यो सबै गरिरहेकी छु। यदि तपाईंहरूले मेरो कार्यालयमा आगो लगाउँदा जनतालाई राहत मिल्छ भने लगाउनुहोस् भनेपछि उहाँहरू फर्किनुभएको थियो।

माओवादी जनयुद्ध शुरू भएपछि प्रशासन र माओवादी दुवैतर्फबाट केही असहज अवस्था सिर्जना भए। यस्तै हो, रमाइलो–नरमाइलो, तीतो, मीठो, अभाव सबै कुरा भोगियो। त्यो एउटा संघर्षको पाटो थियो। धेरै कुरा सिक्ने मौका मिल्यो। बितेका ती क्षणहरूलाई फर्केर हेर्दा रमाइलो लाग्छ। मिसन पत्रकारिता थियो, मिसन सफल भएजस्तो लाग्छ।

प्रकाशकले व्यापार हेर्छ, पत्रकारले समाचारको महत्वलाई ध्यान दिन्छ। तपाईंले कसरी सन्तुलन मिलाउनुभयो ?

पत्रकारिता र व्यापार अलग कुरा हुन्, एकै व्यक्तिले नहेर्नु अझै राम्रो हुन्थ्यो। तर, त्यस समयमा प्रकाशन गृहहरूको विकास भइसकेको थिएन। कामना प्रकाशन र कान्तिपुर पब्लिकेसन भरखर ताते–ताते गर्दै थिए।

प्रकाशक बन्नु एउटा बाध्यता जस्तै थियो तर कमाउने उद्देश्यले होइन, त्यसैले प्रकाशक हुनुको अर्थ कमाउनु थिएन। त्यो व्यक्तिको उद्देश्य र नियतमा भर पर्दछ। मैले प्रकाशक र सम्पादक भए पनि व्यावसायिक पत्रकारितामा कुनै कमी हुन दिइनँ।

कुनै बेला तपाईं अखिल छैटौंको राजनीति गर्नुहुन्थ्यो, पछि नयाँ मोर्चातिर लाग्नुभयो, पछि अझ अर्को, किन यसरी दलबदल ?

हजुर, अखिल छैठौंको राजनीतिबाटै राजनीति प्रारम्भ गरियो। साथै नेकपा (मसाल) को अरू निकायमा पनि काम गरियो। कुनै समय पार्टीको मुखपत्र प्रकाशन गर्ने जिम्मेवारी पनि बहन गरियो। हामी जुनसुकै सिद्धान्त र दर्शन बोकेर बसे तापनि यदि आफूले आफैंलाई परिवर्तन गर्न सकेनौं भने त्यो दर्शन खोक्रो र आडम्बर बन्छ। त्यो चरित्र हामी सबैमा छ।

एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति अत्यन्तै हाबी छ। यही क्रममा त्यस समयमा नयाँ मोर्चा सन्ध्याकालीनमा जनयुद्धका समाचारहरू अलि बढी प्रकाशन हुन्थ्यो। किनकि, त्यस घटनाका पाठकहरू थिए, त्यसलाई हाम्रा पाठक र जनतासामु पुर्याउनु पत्रिकाको दायित्व थियो।

तर, पार्टीका केही साथीहरूले केही मेरा नजिकका साथीहरूलाई नयाँ मोर्चाको कार्यालयमा नजान निर्देशन दिए भन्ने थाहा भयो, साथै अरूहरू पनि सानातिना घटना पहिलेदेखि नै भइरहेका थिए। यी यस्तै कारणहरूले मैले पार्टी परिवर्तन गरें। र, त्यो समयको माग पनि थियो।

तपाईं अहिले कुन पार्टीमा त ?

नेपाल समता पार्टी दुई वर्षअघि नेपाली कांग्रेसमा विलय भइसकेको छ। मेरो कुनै पनि राजनीति पार्टीमा संलग्नता छैन।

समता पार्टीमा लाग्दाको कुनै अनुभव ?

शान्ति प्रक्रियाका लागि मध्यस्थता गर्ने उद्देश्यले नै यो पार्टीको स्थापना भएको थियो। यसमा तत्कालीन समता पार्टीका अध्यक्ष स्व. नारायणसिंह पुनको ठूलो भूमिका छ। यति बेला सबैले समता पार्टी र नारायणसिंह पुनलाई बिर्सिसके र अनुभव त धेरै छन् तर समय आएपछि सबै बाहिर ल्याउने विचारमा छु।

अहिले केमा व्यस्त राधाजी ?

म अहिले व्यापारमा व्यस्त छु, जनधारणामा लेख्छु, केही संघ–संस्थामा सल्लाहकार छु। कहिलेकाहीं आवश्यक परेमा यसो निमन्त्रणा आउँछ जान्छु कसैले सम्झे भने सभा–सम्मेलनमा भाग लिन्छु। देशको राजनीतिक रमाइलो हेरिरहेकी छु। विश्व राजनीतिको अध्ययन गर्दै छु।

अन्त्यमा केही भन्नु छ कि ?

सबैले बिर्सिसकेको मान्छेलाई यहाँले सम्झिनुभयो आभारका साथ धन्यवाद। जनताले अहिलेको शासकका केही हर्कतहरूलाई हिजोको पञ्चायती व्यवस्थासित दाँजेर हेर्दै छन्, त्यो सबैभन्दा दुःखद कुरा हो।

सूचना दिने र लिने हकलाई कुण्ठित गरिनुहुँदैन। प्रेस पनि स्वतन्त्रताको नाउँमा स्वच्छन्द हुनुहुँदैन। आचार संहिताको पालना सबैले गर्नुपर्छ। सरकार र शासकको विरोध गर्न नपाउने र गर्न नसक्ने अवस्था निरंकुश र हैकमवाद हो, त्यो दिन नआओस्।

 

प्रतिक्रिया दिनुहोस्