कोशी राजमार्गको विकल्प विराटचौक–घिनाघाट सडक निर्माण सुरु, असारसम्म बनिसक्ने



रोशनी भट्टराई ,विराटनगर।

प्रदेश नम्बर १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचौक–घिनाघाट सडक निर्माणको काम सुरु भएको छ । प्रदेशको राजधानी विराटनगर जोडने सो सडक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गएको भदौ महिनामा शिलान्यास गरेका थिए । हाल दुई लेनको सो सडकलाई चार लनेमा बिस्तार गर्न लागिएको हो ।

प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानीमा २२ दशमलव ५ किलोमिटर लम्बाइ रहेको सो सडक चार लेनको बन्नेछ । जस अनुसार ठेकेदार कम्पनीले सडक बिस्तारको काम अघि बढाएको छ । ठेकेदार कम्पनी एपेक्स जेभिका सर्बेयर सागर राईले सडक बिस्तार गर्ने काम अनुसार पहिलो चरणमा नाला निर्माणको काम सुरु भएको बताए । उनले सडकमा भरोट हाल्ने कामपनि सुरु भएको जानकारी दिए ।

‘नाला निर्माण सँगै सडक कालो पत्रेका लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु भईसकेको छ।’सर्बेयर राईले भने,सडक बिस्तारका लागि सडक भित्रका संरचना खाली गरिएकाले अब कामले तिब्रता पाउनेछ।’ २२ दशमलव ५ किलोमिटर सडकलाई ३ वटा प्याकेजमा विभाजन गरिएको छ । जसमध्ये २ वटा १०–१० किलोमिटरको सडक ठेक्का लागी निर्माणको काम सुरु भएको हो । दुईवटा प्याकेजको ठेक्का गत असार ३१ गते सम्झौता भएको थियो ।

सम्झौता अनुसार आगामी २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख शुशिल श्रेष्ठले बताए । हाल दुई लेनको सो सडक वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ । सडकको मध्य भागबाट ३५÷३५ फिट कालोपत्रे हुनेछ। सडक निर्माणको दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभिले लिएको छ । पूर्वबाट विराटनगर प्रवेश गर्ने यो सडकलाई कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ ।

कोशी राजमार्गमा विकास निमार्ण जारी रहदा विराटचौक हुदै पूर्व जानेहरुले यो सडकाको प्रयोग गर्दे आएका थिए । निमार्ण सम्पन्न भएपछि प्रादेशिक सडकहुदै प्रदेश राजधानी विराटनगरसंग मेची अञ्चलबासीले बैकल्पिक र छोटो मार्गका रुपमा यो सडकलाई प्रयोग गर्न सक्नेछन् । विराटचौक–घिनाघाट सडक प्रदेशको राजधानी विराटनगरको पुष्पलालचौक हुदै बैजनाथपुर,झोराहाट,नेताचौक र हरैचा हुदै महेन्द्रराजमार्गसंग जोडिनेछ ।

सडक निर्माण भएपछि त्यस क्षेत्रका जनतालाई आवगमनमा सहज हुनका साथै प्रदेशको राजधानी जोडने बैकल्पिक मार्गका रुपमा विकास हुनेछ । प्रदेश सरकारको लगानीमा चार लेनको सडक निर्माण भएपछि कोशी राजमार्ग अन्तर्गत ६ लेनको निर्माणधीन इटहरी–विराटनगर सडकमा हुने सवारी चापपनि कम हुने विश्वास लिइएको छ। प्रदेश एकले चालु आर्थिक बर्षका लागि सडक र पुलको विकासका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

१ नं प्रदेशले आर्थिक वर्ष २०७६/७७ को बजेटमा गाउँदेखि सहर र सहरदेखि प्रदेश जोड्नेसहितका सडक पूर्वाधारका योजनालाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश एकले बहुवर्षीय सडक आयोजनाका लागि स्रोत सुनिश्चितता गरी आयोजना निर्माण कार्य प्रारम्भ गर्न ३ अर्ब १० करोड विनियोजन गरेको छ।स्रोत सुनिश्चितता गरिएका र अन्य सडक र पुल निर्माण अघि बढाउन १ अर्ब ५७ करोड रुपैयाँ छुट्याएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमलाई स्थानीय तहसँगको साझेदारीमा ग्रामीण सडकहरूको स्तरवृद्धि गर्दै लैजान ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशमा निर्माणाधीन क्रमागत सडक आयोजनाहरूलाई निरन्तरता दिन ८१ करोड रुपैयाँ र प्रादेशिक विशेष सडक आयोजनाका लागि ३६ करोड रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्