लक्ष्मी ‘पूजा विधि’



 

या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्ष
गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया ।
या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः
सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता ॥

सुख रात्रि अर्थात् कार्तिक कृष्ण औँसीका दिन धनधान्य र समृद्धिकी देवी लक्ष्मीजीको पूजा अर्चना गरी यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा मनाइन्छ । झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाईबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो, तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन घर वरीपरी सरसफाई गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी घर आँगनमा गाईको हरियो गोवर तथा रातोमाटोले लिपेर लक्ष्मी पूजा गरेमा लक्ष्मीजीले घरमा सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

यसै विश्वासका कारण लक्ष्मी पूजाको दिन घर–घरमा दीपमालिकासहित दीपावली गरिन्छ । यस मानवीय जीवनमा अणिमा आदि अष्टसिद्धि र सबै प्रकारको सुख मीलोस्, घरमा लक्ष्मी प्रवेश गरुन् भन्ने चाहनाले भक्ति पूर्वक आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ र यसै पाइलाबाट लक्ष्मीजी घरभित्र प्रवेश गरिदिनुहुने र स्थिर रहनुहुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यस दिन प्रातः उठेर नित्यकर्म गरी दिनभर लक्ष्मीको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ। सुसज्जित मण्डपमा सुरुमा दीप–कलश–गणेश पूजा गरिन्छ। यस दिन विशेष रूपले गणेश, इन्द्र, कुबेर र लक्ष्मीको स्थापना गरी प्राणप्रतिष्ठापूर्वक पूजन गर्नुपर्दछ। मण्डप निर्माण गर्न नसके पनि पूजास्थानमा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्दछ ।

हातमा द्रव्य र जल लिएर “मेरो घरमा मलाई वेद, पुराण, धर्मशास्त्रहरूले बताए अनुसार अहिलेसम्म प्राप्त गर्न नसकेकी लक्ष्मी प्राप्त हऊन् र आर्जित लक्ष्मी दीर्घकालसम्म रहिरहून्, यसका लागि दीप–कलश–गणेश महालक्ष्मीसहित, सरस्वती, इन्द्र र कुबेर आदिको पूजा गर्दछु ।”यस्तो संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमस् भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने तत्पश्चात् इशानकोणमा रहेको वरुण कलशको पनि यसै गरि पूजा गर्नु पर्दछ ।

श्राद्धा एवं भक्तिले गरिने लक्ष्मीपूजाको लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि कार्तिक २१ गते गोधुली लग्न र सूर्यास्तको बीचमा अर्थात् लक्ष्मीपूजाको लागि साँझ ०५र१६ बाट ०५र४२ सम्मको समय उत्तम रहेको छ ।

“महालक्ष्मीजीको प्रतिमा, मुर्ति वा फोटो राख्ने र महालक्ष्मीजीको पूजनकोलागि हातमा कमलफूल रातो अक्षतालिएर ध्यान गर्दै चढाउने यदि प्रतिमा, मुर्ति वा फोटोको प्राणप्रतिष्ठा नभएको भए प्राणप्रतिष्ठा गर्ने र फूल अक्षता सहितले आवाहनगर्ने र कुशको आसन राखिदिने, ॐ महालक्ष्मै नमस् भन्दै पद्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई दही, घ्यू र मह मिश्रित मधुपर्क तथा गंगाजलले स्नान गराई महालक्ष्मीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, अक्षता, वस्त्र, सौभाग्य चढाउनु पर्दछ तत्पश्चाट जौ, तिल, फूल, माला, बेलपत्र, सहित सम्पूर्ण उपचारले पूजा गर्दै महालक्ष्मीको ॐ महालक्ष्मै नमस् भन्दै अङ्ग पूजनगरि धूप, दिप, विभिन्नखाले नैवेद्य, फलफूल, पान, सुपारी, भोगटे, कौडी, कमलगट्टा, कमलको फूल, जटानरिवल विशेष रूपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास छ, त्यसपछि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । यसै समयमा सरस्वती र कुवेरकोपनि पूजा गर्नु पर्दछ । तत्पश्चात् हातमा फूल, चन्दन र अक्षताले अङ्गपूजा गर्ने।

 

ॐ चपलायै नमः, पादौ पूजयामि ।
ॐ चञ्चलायै नमः, जानुनी पूजयामि ।
ॐ कमलायै नमः, कटिं पूजयामि ।
ॐ कात्यायन्यै नमः, नाभिं पूजयामि ।
ॐ जगन्मात्रे नमः, जठरौ पूजयामि । स्तनौ पूजयामि ।
ॐ विश्ववल्लभायै नमः, वक्षस्स्थलं पूजयामि ।
ॐ कमलवासिन्यै नमः, हस्तौ पूजयामि ।
ॐ पद्मानानायै नमस्, मुखं पूजयामि । ॐ कमलपत्राक्ष्यै नमस्, मुखं पूजयामि ।
ॐ श्रियै नमः, शिरः पूजयामि ।
ॐ महालक्ष्म्यै नमः, सर्वाङ्गं पूजयामि ।
अब महालक्ष्मीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुनस्
ॐ अमलकमलसंस्था–तद्रजः पुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।
मणिमुकुटवित्रतालङ्कृता कल्पजालै–
र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।

यो मन्त्र द्वारा पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु र आफ्नो मनोकामना पूर्णहोस् भनि जगत् जननी महालक्ष्मीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिनु पर्दछ । यसरी गरिएको पूजाबाट महालक्ष्मी प्रसन्नभई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुने धार्मिक विश्वास रहेकोछ । अस्तु ।।

 

प्रतिक्रिया दिनुहोस्