बैंक ऋणको ब्याजदर घट्यो



145191311

नेपाल समाचारपत्र, काठमाडौं।

बैंकहरूले दिने ऋणको ब्याजदर शून्य दशमलव ५ प्रतिशतले घटेको छ। बैंकहरूको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घट्न गएको हो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौमा बैंकहरूको आधार ब्याजदर (बेस रेट) गत आर्थिक वर्षको भदौको भन्दा शून्य दशमलव ५ प्रतिशतले घटेर ९ दशमलव ५३ प्रतिशतमा झरेको छ।

गत अर्थिक वर्षको भदौ महिनामा बैंकहरूको बेस रेट १० दशमलव शून्य ३ प्रतिशत थियो। बेस रेट घटेसँगै बैंकहरूको औसत ऋणको ब्याजदर गत वर्षको भदौमा १२ दशमलव ३१ प्रतिशत रहेकोमा यो भदौमा घटेर ११ दशमलव ९७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।

चालू आर्थिक वर्षकै साउन महिनामा ऋणको औसत ब्याजदर १२ दशमलव शून्य ८ प्रतिशत थियो। साउन महिनाको तुलनामा भदौ महिनामा शून्य दशमलव ११ प्रतिशतले घटेको हो।राष्ट्र बैंकका अनुसार, ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ।

२०७५ भदौमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २ दशमलव ७४ प्रतिशत रहेकोमा २०७६ भदौमा २ दशमलव ७३ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ भदौको १ दशमलव ६८ प्रतिशतको तुलनामा २०७६ भदौमा १ दशमलव ६९ प्रतिशत कायम भएको छ

। बैंकहरूले निक्षेपमा तिर्ने ब्याज दर भने बढेको छ। गत वर्षको भदौसम्म निक्षेपको औषत ब्याज ६ दशमलव ३ प्रतिशत थियो भने यो भदौमा बढेर बढेर ६ दशमलव ८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्