चट्याङ रोक्ने र पहिरोको जानकारी दिने प्रविधिको जडान



नेपाल समाचारपत्र, बैतडी।

विपद् न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो परिसरमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ। चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र पहिरोको जोखिम न्यूनीकरणका लागि पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको नगरपालिकाका प्रवक्ता चक्र प्रसादले बताउनुभयो।

युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बैतडी शाखा र हिमालय कन्जर्भेसन गु्रपको प्राविधिक सहयोगमा उक्त प्रणाली जडान गरिएको हो। नमुनाको रूपमा नगरपालिका भवनको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको जनाइएको छ।

चट्याङबाट बच्नका लागि नगरपालिकाको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिएको भू–गर्भशास्त्री डा.रञ्जनकुमार दहालले बताउनुभयो। ‘यो प्रणाली सस्तो र प्रयोग गर्न सकिने भएकाले सहज हुनेछ,’ उहाँले भन्नुभयो– ‘यो प्रतिरोधी प्रणालीबाट ५० मिटर वरपर चट्याङको जोखिम हुँदैन।’

यस्तै नगरपालिका भवन परिसरमै पहिरो पूर्वसूचना प्रणाली पनि जडान गरिएको छ। वर्षा भएको बेला पहिरो जान सक्ने सम्भावना भएमा घण्टी बज्ने प्रविधिसहितको पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको डा. दाहालले बताउनुभयो। पाइप र गुच्चाको प्रयोग गरेर यो प्रणाली जडान गरिएको हो।

उहाँले भन्नुभयो– ‘वर्षाले जमिन भासिएमा गुच्चा खसेर घण्टी बज्नेछ र यसले पहिरोको संकेत गर्नेछ।’ यो प्रणाली प्रभावकारी भएमा अबको केही महिनापछि साइरन जडान गरिने भएको छ। नगरपालिका परिसरमा राखिएको चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणालीबाट विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाले नगरपालिकासँग मिलेर विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको र यो प्रणाली सफल भएमा अन्य वडामा पनि विस्तार गरिने रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्