भाँडाकुटी छाडेर पब्जीतर्फ लागे बालबालिका



एक जमाना थियो, स्कुलमा सरले हाजिर गर्दा आफ्नो पालो आउँदा ‘एस सर’ भनिन्थ्यो र साथीको पालो आउँदा साथीको मुख थुनिन्थ्यो। एक जमाना थियो, स्कुलबाट घर फर्कंदा चुइगम किनेर खाँदै आइन्थ्यो, बेलुका खाना खाने बेला भित्तामा टाँसेर राखिन्थ्यो। अनि भोलिपल्ट स्कुल जाने बेलामा कसैले नदेख्ने गरी फेरि उक्काएर त्यही चुइगम खाँदै स्कुल गइन्थ्यो।

यस्तै बाल्यकालका क्रियाकलाप सधैँ यादगार हुन्छन्। कहिले पुतलीको झुसको टीका लगायो भने पैसा भेटिन्छ भनेर स्कुल नै नगई दिनभरि पुतली खोजेर झुसको टीका लगाउन लालायित भइन्थ्यो। कहिले चुङ्गी खेल र घुर्रा घुमाउन आफैँले सल्लाको बोक्राबाट बनाएको घुर्रा र बनमारे स्याउलाको मुन्टा टिपेर बनाएका चुङ्गी खेलिन्थ्यो।

आहा कति रमाइला थिए ती पलहरू। जमाना, जुन बेलामा भाइ–बहिनीलाई सबैले सुन्ने गरी फुलाइन्थ्यो। हाहा नानी हाहा, लहै बाबु लहै। तर कसैले थाहा नपाउने गरी चिमोटिन्थ्यो। केटाबेटी चिच्याई–चिच्याई रुन्थे। खूब मजा लाग्थ्यो।

एक जमाना थियो, भाँडाकुटी खेल खेल्ने। यो खेल प्रायः सबैले खेलेका हुँदा रहेछन्। त्यो बाल्यकालमा खेलिने सबैजसो खेलहरू सबै भेगमा एउटै हुँदा रहेछन्। पूर्व र पश्चिममा समेत बाल्यकालमा खेलिने खेल भाँडाकुटी। कति लोकप्रिय थियो त्यो खेल। त्यस बेलामा खेलिएको यो खेल वास्तवमा प्रेमले खेलिएको हुँदो रहेछ। वयष्क अवस्थामा गरिने प्रेममा स्वार्थ ज्यादा हुने।

तर त्यो भाँडाकुटी खेलमा गरिएका प्रेम, विवाह साँच्चै निःस्वार्थ थिए। भाँडाकुटीमा बिहे गर्ने चलन पनि थियो। ढुंगाका छोराछोरी, वरिपरिबाट खोजेर जम्मा पारिएका टालाटुली, माटोको खाना, चप्लेटी ढुंगाका भाँडाकुँडा अनि माटाकै सिन्दुर निकै यादगर छन्। ढुंगाकै छोराछोरीसमेत हुन्थे।

साँची कसले सिकाएको होला यस्तो खेल खेल्न ? मानिस त्यसरी पनि खुशी हुन सक्ने रहेछ। अझ रोचक कुरा त के हो भने, जहिल्यै पनि एउटै जोडी हुन्थ्यो। आफ्नो बेहुलो बनेर खेल्ने साथी नआएको दिन केटी खेल खेल्नै मान्दैनथी। अनि केटो पनि उस्तै गथ्र्यो।

किनकि, त्यो बालप्रेम सच्चा थियो, निःस्वार्थ थियो। बिहेमा पानी अमलाका झारको माला, लहराको माला, खर–घाँसको औँठी आहा, सम्झिँदा पनि फेरि त्यही उमेरमा फर्किन मन लाग्छ। तर यो सम्भव छैन।

ऊ बेलामा भाँडाकुटी खेल्दा जहिल्यै पनि मेरी बेहुली बन्न चाहने मान्छे अहिले अर्कैकी बेहुली भइसकिन्। तर अहिले जमाना बदलिएको छ। मानिसहरू पश्चिमी संस्कृतितर्फ आकर्षित छन्। अहिलेका बालबालिकालाई मोबाइल भए पुग्छ।

घरमा कोही पाहुना आउनेबित्तिकै वाइफाइको पासवर्ड माग्छन्। उनीहरूलाई न भाँडाकुटीको जरुरत छ, न त कुनै खेलको। बस्, उनीहरूलाई मोबाइलमा क्यान्डिक्रस र पब्जी भए पुग्छ। यो अहिलेको गम्भीर विषय हो।

– अनिल गुप्ता, चिप्लेढुंगा, पोखरा।

 

प्रतिक्रिया दिनुहोस्