परम्परागत हैकमवादविरुद्ध योद्धाको सपना



 

यदुप्रसाद भट्ट

कवि देवकी तिमल्सिना ‘समीक्षा’ को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समीक्षकहरूले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन्। हालै काठमाडौंमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सो धारणा राखेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कला, साहित्य तथा सांस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौं क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राख्नुभयो। थापाले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकहरूलाई खबरदारी भएको बताउनुभयो।

जनयुद्धको एक जना सेना, कलाकार हुँदै आज कविका रूपमा स्थापित भएको थापाले बताउनुभयो। कार्यक्रममा बोल्दै थापाले विप्लवले विद्रोहको कुरा गरेको बताउँदै सत्तारूढ नेकपाभित्र पनि विद्रोहको आवश्यकता भएको उल्लेख गर्नुभयो।

‘विप्लवले विद्रोहको कुरा गर्नुभएको छ, त्यस्तै सत्तासीन नेकपाभित्र पनि ठूलो विद्रोहको भाव छ, हिजो उठाएको क्रान्तिको झण्डा त्यहीरूपमा उठ्दैन तर फरक तरिकाले उठ्ने निश्चित भएको छ।’ –थापाको भनाइ थियो।

उहाँले क्रान्तिको बाँकी काम पूर्वएमाले र कांग्रेसले नगर्ने भन्दै अगाडि भन्नुभयो– ‘बाँकी क्रान्ति हिजोका क्रान्तिकारीहरूले गर्न नै तयार हुनुपर्छ, जनताले फेरि एकपटक हाम्रै मुख हेरेका छन्, त्यसैले कवि समीक्षाले अझै क्रान्तिकारी कविता लेख्नुपर्छ।’ उहाँले समाजमा रूपान्तरण, क्रान्तिको, सामाजिक रूपान्तरणका लागि तयार हुनुपर्ने बताउनुभयो।

तिमीले जितेको युद्ध नायकहरू धेरै टिक्नेवाला छैन भनेर कविले कवितामा लेखेको कुरा साँचो हुन थालेको भन्दै प्राडा माधवप्रसाद पोखरेलले परम्परागतरूपमा जकडिएको हैकमवादविरुद्ध लड्न युद्ध मैदानमा उत्रेकी कवियात्रीले नेपाली समाजको रूपान्तरणमा योगदान दिए पनि अझै धेरै कुरा बाँकी रहेको धारणा राख्नुभयो।

जबसम्म नेपालको जस्तो अटेरी प्रशासन हुन्छ तबसम्म प्रचण्ड त के चे ग्वोएवारा नै यहाँ आए पनि देश परिवर्तन नहुने भन्दै पोखरेल विश्वमा माक्र्सवादका नयाँ संस्करणहरू आएका बेला कवि देवकी तिमल्सिनाले नयाँ कविता लेख्नुपर्ने धारणा राख्नुभयो।

डा. नवराज लम्सालले आफू बाँचेको समयमा टेकेर कविले वास्तविकता र भोगाइमा इमानदार भएर रचिएको कविताले नै देवकी तिमल्सिना एक महान् कवि बन्ने सम्भावना रहेको उल्लेख गर्नुभयो।

समालोचक डा. बिन्दु शर्माले अभिव्यक्तिलाई मौलिक भाषा र बिम्बहरूलाई प्रयोग जनयुद्धमा लडेका योद्धाहरूको भाव मात्र नभएर समाजमा उत्पीडित महिला तथा जनसमुदायको भावनाको संग्रह यो कविता भएको बताउनुभयो।

कार्यक्रममा रमेश शुभेच्छुकले भन्नुभयो– ‘कवि तिमल्सिना क्रान्ति चेतनाको कवि हो, उहाँका प्रत्येक कविता जीवन्त छन्। उहाँ विचार र कलाको संयोजन गर्न सक्ने क्षमतावान् कवि भएको पुष्टि भएको छ। जनयुद्धको रापतापबाट आएको खारिएको व्यक्तित्व रहेको उहाँ सर्वाधिक चर्चित कवि हुने सम्भावना छ।

मूलतः युद्ध चिन्तनले मूल विषय बनाएको छ, उत्साहले युद्धमा लागियो तर बीचैमा क्रान्ति पूरा नभएको कुराले निराशा ल्याउँछ।’ उहाँले कवि देवकी राष्ट्रिय, मानवीय, क्रान्तिकारी चेतना भएकी, युद्धकवि भएको बताउँदै हरेकपल्ट निरास भए पनि फेरि निराशालाई आशाका किरण छर्ने कविका रूपमा बुझ्न सकिने बताउनुभयो।

कवि देवकी तिमल्सिनाले आगामी दिनमा पनि यस्तै भोगाइमा रहेर साहित्य लेख्ने प्रयत्न गर्ने बताउनुभयो। कार्यक्रममा डा. दीपेन्द्र रोकायाले जीवनलाई हत्केलामाथि राखेर समाज परिवर्तनको बाटोमा लाग्ने कमै हुन्छन् भन्दै त्यही परिवर्तनको बाटोमा आफू र आफ्नी जीवन संगिनी कवि देवकी निरन्तर लाग्ने धारणा राख्नुभयो।

शसन्तोषको ‘अल्टिमेट आकाश’

युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास ‘अल्टिमेट आकाश’ को नेपाल संस्करण लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नारायणभक्त श्रेष्ठ, केके कर्माचार्य, जीवेन्द्र देव गिरी, प्राडा उषा ठाकुर र माया ठकुरीलगायतको उपस्थिपत रहेको थियो।

अमेरिका जान खोज्ने जो–कोही र सन्तान अमेरिका पठाउन खोज्ने अभिभावकलाई उपयोगी होस् भनेर उक्त कृतिको रचना गरेको उपन्यासकार सन्तोष लामिछानेले प्रकाश पार्नुभयो।
कुलपति गंगा उप्रेतीले अल्टिमेट आकाश जस्तो उपयोगी उपन्यास प्रकाशित हुनु खुसीको कुरो भएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्