आहा ! अरिङ्गालका परिकार



प्रताप बानियाँ, म्याग्दी ।
अक्करे भीर तथा पहरा र ठूला एवं अप्ठ्यारा रुखका टुप्पोमा अरिङ्गालले आफ्नो गोला लगाउने गर्दछ । मानिसहरु त्यही अरिङ्गालको गोला झारेर किरा खानका लागि निकै दुःख र मेहनत गर्छन् । अरिङ्गालको गोलो पोलेर झार्ने काम अति जोखिमपूर्ण मानिन्छ । अरिङ्गालले टोकेमा ज्यानै जाने खतरा समेत हुन्छ ।

जोखिमपूर्ण मानिने अरिङ्गालको गोलो पोलेर किरा खाने काम म्याग्दीमा भने फस्टाउँदै जान थालेको छ । सामुदायिक वनजङ्गलमा पाइने अरिङ्गाल पोलेर मानिसहरु सहर बजारका होटलमा बिक्री गर्न ल्याउने गरेका छन् । पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीमा अरिङ्गालको व्यापारले तीव्रता पाएको छ ।

यही अरिङ्गाल व्यवसायले चिनिनुभएको छ, म्याग्दी सदरमुकाम बेनीबजारस्थित विरेन्द्रचोकमा सञ्चालित रोजिना होटल एण्ड रेष्टुरेण्ट थकाली भान्छा घरकी प्रोप्राइटर सिर्जना भट्टचन । अरिङ्गालवाली सिर्जनालाई अहिले अरिङ्गालका परिकारहरु बनाएर बिक्री गर्न भ्याइनभ्याई छ । बेनीमा होटल व्यवसाय सुरु गरेको ३० वर्ष पुगेपनि उहाँले गत वर्षदेखि अरिङ्गालको किरा खरिद गरेर त्यसको परिकार बनाई बिक्री गर्न थाल्नुभएको हो । उहाँको होटेलमा अहिले दैनिक रुपमा अरिङ्गालको परिकार बिक्री भैरहेको छ ।

सिर्जनाको होटेलमा म्याग्दीको मालिका गाउँपालिकाको विम गाउँ र बागलुङ जिल्लाबाट अरिङ्गालका किरा बिक्री गर्न युवाहरुले ल्याउने गरेका छन् । महिला उद्यमी सिर्जनाले युवाहरुबाट प्रतिमाना एकहजार पाँचसय रुपैयाँदेखि १८ सय रुपैयाँसम्म अरिङ्गालका किरा खरिद गरेर राख्नुहुन्छ । त्यही किरालाई उहाँले मसला मिसाई फ्राई गरेर प्रति पिलेट छ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको बताउनुभयो । अरिङ्गालको परिकार खासगरी विदेश जानेहरु, विदेशबाट फर्किएका र बजारमा बस्नेहरुले रुचाउने गरेका छन् ।

सङ्कलन गर्न कठिन हुने अरिङ्गालको परिकार खाँदा निकै स्वादिलो हुन्छ । अरिङ्गालको परिकार खासगरी विदेश बसेर फर्किएकाहरुले बढी रुचाउने गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको कोषाध्यक्ष समेत रहेकी सिर्जनाले गतवर्ष अरिङ्गालको परिकार मात्रै बिक्री गरेर तीनलाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँले गएको वर्षमा एकलाख रुपैयाँ बराबरको अरिङ्गालको परिकार पोखरा र काठमाडौंको बजारमा समेत बिक्री गरेको जानकारी दिनुभएको छ । यसवर्ष भने गत वर्षको तुलनामा अरिङ्गालले कम गोलो लगाएका कारण अरिङ्गालको किरा थोरै आएको सिर्जना बताउनुहुन्छ ।

अरिङ्गालको परिकार खाएमा युरिकएसिड बढेको, प्रेसर–लो हुने, कब्जियत, मेरुदण्ड दुख्ने र हातखुट्टा सुन्निने तथा चिसो लागेका बिरामीहरुलाई निको हुने जानकारहरु बताउँछन् । आफूलाई प्रेसर–लो हुने र खुट्टा दुख्ने समस्या भएपछि अरिङ्गालको परिकार खाँदा ठीक भएको हुँदा अरिङ्गालको किरा खरिद गरी परिकार बनाएर बिक्री गर्न सुरु गरेको अरिङ्गालवाली सिर्जनाले अनुभव सुनाउनुभयो ।

अरिङ्गालवाली सिर्जनाले अरिङ्गालको परिकार बिक्री गर्दा पेशा तथा व्यवसाय समेत फस्टाएको र आफू पनि हाइलाइटमा आएको हुँदा यसलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । म्याग्दी जिल्लासहित विभिन्न स्थान र मुस्ताङ भ्रमणमा जानेहरु समेत अरिङ्गालको परिकार खोज्दै होटलमा आउने गरेकाले निरन्तर रुपमा अरिङ्गालको परिकार बिक्री गर्ने उहाँको भनाइ छ । अरिङ्गालको परिकारकै कारण अहिले होटलमा आउने पाहुनाहरु बढेका छन् । अरिङ्गालको परिकार बिक्री गर्दा आम्दानी पनि राम्रै हुने भएकाले यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्