प्रदेश २ लोकसेवाले पूर्णता पायो



जनकपुर, (नेस)।प्रदेश २ लोकसेवा आयोगका सदस्यमा नियुक्त भएका डा. सुजाता देव र महारुद्र झाले सपथ ग्रहण गर्नुभएको छ। सोमबार सदस्यद्वय देव र झाले सदस्यका रूपमा शपथ ग्रहण गरेपश्चात आयोगले पूर्णता पाएको हो।

आयोगका अध्यक्ष सुरेन्द्र यादवले सपथ लिएको करिब डेढ महिनापछि प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले दुवै जनालाई सपथ खुवाउनुभएको हो। महोत्तरीको एकडारा गाउँपालिका निवासी झा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सप्तरी राजविराजकी देवलाई नेकपाको कोटाबाट नियुक्ति गरिएको हो। झा जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस र देव महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा अध्यापक थिए।

यसअघि आयोगको अध्यक्षमा यादवले भदौ २२ गते सपथ ग्रहण गर्नुभएको थियो। प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सामाजिक विकाश मन्त्री नबलकिशोर साह, उद्योग वन वातावरण तथा पर्यटन मन्त्री रामनरेश राय, प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव, नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झासहितको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्