पूजा पोइ पर्यो कालेबाट उत्साहित



अभिनेतृ पूजा शर्माले निर्माता निर्देशक तथा कलाकार शिशिर राणाको कथा तथा निर्देशनमा बनेको फिल्म पोइ पर्यो कालेले आफ्नो करिअरमा इँटा थप्ने बताएकी छिन्।
‘यो फिल्म मैले गरिरहेको भन्दा फरक खालको छ। प्रायः लभर गर्लको भूमिकामा काम गरेको थिएँ। तर, यो फ्यामली ड्रामा हो, जसमा मेरो पोइ चैं काले पर्छ।

स्टोरी मैबाट शुरू भएर मेरै वरिपरि घुम्छ। फिल्ममा म लभर गर्लदेखि लिएर हाउस वाइफसम्मको भूमिकामा छु’, पूजाले भनिन्– ‘यस्तो खालको भूमिका गर्दा मजा आउँदोरहेछ। किनभने अडियन्सले माया गरे पनि मलाई गर्छन् र रिसाए पनि मैसँग रिसाउँछन्। मैले आफंैले बनाएको फिल्ममा समेत म कहिल्यै पनि लिड रोलमा छैन।

तर, यो फिल्म भने मेरो लागि चिठ्ठै परेजस्तो भएको छ।’ फिल्ममा आफ्नो २ जना प्रेमी र २ जना पति हुने उनले बताइन्। पूजाले यस फिल्मबाट २० लाख रुपियाँ पारिश्रमिक लिएकोबारे भनिन्– ‘मैले आफ्नो काम र मेहनतअनुसारको पारिश्रमिक लिएको हुँ। त्यो बराबरको काम पनि गरेकी छु।’ फिल्मका नायक आकाश श्रेष्ठले आफ्नो दुईखालको भूमिका रहेको बताए।

‘कमेडी बेसमा बनेको फिल्ममा काम गर्दा निकै रमाइलो भयो। यसमा मेरो फरक भूमिका छ।’ –उनले भने। निर्देशक शिशिर राणाले सामाजिक विषयवस्तुलाई कमेडीमा ढालेर फिल्म निर्माण गरिएको बताए। ‘रङरोगनले मान्छे राम्रो–नराम्रो छुटिँदैन।

मन गोरो हुनुपर्छ, तन कालो भए पनि फरक पर्दैन भन्ने कथा रहेको फिल्मलाई हामीले कमेडी धारमा प्रस्तुत गरेका छौं’, उनले भने– ‘यसमा सिचुयसनल कमेडी छ।’ आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने फिल्ममा आकाश र पूजाको साथमा सृष्टि श्रेष्ठ, राजाराम पौडेल, सौगात मल्ल, सोहित मानन्धर, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

दीपक मनाङे र सरोज नेपालीको निर्माण रहेको फिल्ममा अर्जुन पोखरेल, लालबहादुर खाती र पुरुषोतम न्यौपानेको संगीत, कविराज गहतराज र कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्