निःशुल्क औषधि सशुल्क गरेपछि सिलबन्दी



रोशन पराजुली/हेटौंडा

निःशुल्क वितरण गरिने औषधि सशुल्क बिक्री गरेको पाइएपछि हेटौंडा–२ मा लामो समयदेखि सञ्चालित शाह मेडिकल हलमा आइतबार सिलबन्दी गरिएको छ। प्रशासनको नेतृत्वमा भएको आकस्मिक अनुगमनका क्रममा उक्त मेडिकलमा सिल गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका सहदेव आचार्य र हेटौंडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय एकाइ प्रमुख सुपेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकल हलमा सिलबन्दी गरेको हो।

मेडिकलले शक्तिजल नामक औषधिमा ‘नेपाल सरकारबाट निःशुल्क वितरण गरिने’ भनी लेखिएकोलाई मार्करले केरेर प्रतिप्याकेट १० रुपियाँका दरले बेचेको पाइएको हो। अनुगमनका क्रममा निःशुल्क वितरण गरिने अन्य ४ प्रकारका औषधि पनि बरामद गरिएको अनुगमन टोलीमा रहेका उपभोक्ता मञ्च मकवानपुर अध्यक्ष कुमार पौडेलले बताउनुभयो। मेडिकलमा नेपाल सरकारले निःशुल्क वितरणका लागि पठाएको डाइजिन र आइड्रपलगायत औषधि पाइएको छ।

मेडिकल सञ्चालक अशोक शाहले आफू सरकारले वितरण गरेको औषधिको डिलर भएको बताउनुभएको छ। सरकारले निःशुल्क वितरण गर्न दिएको औषधि सशुल्क बेच्न नपाइने व्यवस्था छ। मेडिकलले अनुमतिबिना बिरामी भर्ना गरेर उपचार गरेको पाइएको छ।

औषधि मात्र बेच्ने अनुमति लिएको मेडिकलले अनुमतिबिना क्लिनिकसमेत सञ्चालन गर्दै आएको पाइएको हो। अनुगमन टोली पुग्दा ६ जना बिरामी त्यहाँ भर्ना गरेर उपचार गरिरहेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्