‘आगामी दशक नै भ्रमण दशक’



नेपाल समाचारपत्र, काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण दशकको रुपमा मनाउनु पर्ने बताउनुभएको छ।

आइतबार पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रमण वर्षको उद्घाटन समारोह जनवरी १ मा हुने र त्यो दिन नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरू आउने जानकारी पनि दिनुभयो।‘

आगामी वर्ष हामीले भ्रमण वर्ष मनाउँदै छौं, सफल हुनेछ,’ उहाँले भन्नुभयो– ‘तर २०२० मै यो अभियान सम्पन्न हुँदैन, आगामी दशकलाई नै भ्रमण दशकको रुपमा मनाउनु पर्छ।’

मन्त्री भट्टराईले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पुर्याउन सबै लागि पर्नुपर्नेमा जोड दिनुभयो। पर्यटनको क्षेत्रबाटै हजारौंलाई रोजगारी दिन सकिने भन्दै यसमा सबैले लागि पर्नुपर्ने उहाँले बताउनुभयो।

आगामी वर्ष नै अन्तर्राष्ट्रिय विमानस्थल थपिने भन्दै उहाँले यसबाट मुलुकमा पर्यटक भित्र्याउन अझ सहज हुने उल्लेख गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै समस्या रहेको भन्दै त्यसको नयाँ विकल्पको विषयमा छलफल भइरहेको समेत बताउनुभयो।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई स्तरोन्नति गरिने बताउनुभयो। अध्यागमनमा नयाँ प्रविधिहरू प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो।

मन्त्री भट्टराईले ट्वीनअटर जहाजलाई प्रदेशतिर सेवा दिन लगाएर काठमाडौंभित्र ठूला जहाजमात्रै प्रयोगमा ल्याउने योजना रहेको सुनाउनुभयो।

कार्यक्रममा बोल्दै भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले भ्रमण वर्ष सफल बनाउन गति नपुगेको बताउनुभयो।‘हामीले भ्रमण वर्ष सफल बनाउन धेरै काम गर्नुपर्ने छ।तर, समय थोरै छ’, उहाँले भन्नुभयो– ‘अहिले स्पिड पुगेको छैन, सफल बनाउनका लागि हामीले स्पिड बढाउनैपर्छ।’

भ्रमण वर्ष २०२० सचिवालय र गैरआवासीय नेपाली संघबीच सम्झौता भएको छ। सम्झौताअनुसार एक गैरआवासीय नेपालीले एक विदेशी साथीलाई नेपाल भ्रमण गराउने अभियान सञ्चालन गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्