लागूऔषध सहित तीनजना पक्राउ



वीरगन्ज, (नेस)।पर्साको वीरगन्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले बाँके कोहलपुर–३ बस्ने ३४ वर्षीय किरण क्षेत्री, हेटौंडा–२ बस्ने ३० वर्षीय दिपेन्द्र थापा र हेटौंडा–४ बस्ने ३० वर्षीय फिरोज अन्सारीलाई लागूऔषध लिएर हिँडेको आरोपमा पक्राउ गरेको हो।

प्रहरी चौकी इनरवा पर्साको टोलीले वीरगन्ज–१६ रजतजयन्ती चोकबाट क्षेत्रीलाई लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो। भारतको रक्सौलबाट वीरगन्जतर्फ पैदल आउँदै गरेका उनीहरूको साथबाट लागूऔषध इन्जेक्सन फेनारगन, नोर्फिन र डाइजोपाम ११–११ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ ना१९प १२६७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दीपेन्द्र र फिरोजको साथबाट सशस्त्र प्रहरीले लागूऔषध बरामद गरेको थियो।

उनीहरू लागूऔषध ओनरेक्स २८ बोतल बोकेर आउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। शनिबार पक्राउ परेका तीनैजनालाई लागूऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्