सामाजिक सञ्जालको असामाजिक प्रयोग



 

डा. टीकाराम पोखरेल

भनाइ छ– धनको गरिबी त्यति घातक हुँदैन, जति घातक मानसिकताको गरिबी हुन्छ। धनको गरिब भए स्वयम् पैसा नहुनेलाई मात्र दुःख हुन्छ, तर मानसिक गरिबी भयो भने त्यसले समाजलाई नै गरिब बनाउँछ। गरिबी भनेको वास्तवमा पैसा कम हुनु होइन, नकारात्मक मानसिकता बढी हुनु हो। आजकल सामाजिक सञ्जालमा आएका नकारात्मक र हानिकारक टीकाटिप्पणीले समाज दिनप्रतिदिन मानसिक गरिब हुँदै जान थालेको पुष्टि गरिरहेको छ।

पत्रपत्रिकामा आउने भ्रष्टाचारका विषय हुन् वा सामान्य व्यक्तिले कसैलाई भित्तामा पुग्ने गरी राखिएका छुद्र स्टाटस हुन्, सबैमा कुनै न कुनै कमेन्ट मर्यादा विपरीत भेटिन्छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरू स्वयंमा एक–आपसमा गाली गर्ने पनि छन्। एकले अर्कालाई पार्टीको भक्तको आरोप लगाउने र सत्तोसराप गर्नेहरू पनि कम छैनन्। युुटुबमा राखिएका भिडियोमा होस् वा ट्वीट र रिट्वीटमा नै किन नहोस्, नकारात्मक कमेन्टहरू देखिन्छन्।

बिगार्न एक भए पुग्छ, तर बनाउन उनान्सय चाहिन्छ भनेझैँ कुनै एकजनाले गलत कुरा समाजिक सञ्जालमा पोस्ट गरिदियो भने त्यसमा नकारात्मक टिप्पणी यति धेरै आउँछन् कि मानौँ सबै संसार अब त्यही पोस्ट मात्र हो। तर यथार्थ यतिमात्र होइन, नकारात्मक टिप्पणी गर्नेभन्दा ठूलो जमात पनि समाजिक सञ्जालमा छ, जो त्यस्ता टीकाटिप्पणीमा भाग लिन चाहन्नन्। त्यसो त सामाजिक सञ्जालमा पहुँच नै नभएको वर्ग पनि ठूलो छ।

सामाजिक सञ्जाल केका लागि? भन्ने प्रश्न पनि अब बहसको विषय भएको छ। सामाजिक सञ्जाल विष ओकल्न हुन् कि अमृत बाँड्न हुन्, आलोचना गर्न हुन् कि समालोचनाका लागि हुन्। के सामाजिक सञ्जाल चितामा जल्दै गरेको मान्छेको फोटो राख्न मात्र हुन्, अथवा भान्सामा पाक्दै गरेको तरकारी र मोल्दै गरेको अचार पोस्टका लागि हुन्, कि जाँड खाएर उन्मत्त नाच्दै गरेको फोटो पोस्ट गर्न हुन् ?

डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीलाई गाली गर्न हुन् कि, आफ्नै सरकारको धज्जी उडाउन वा सरकारको भक्ति गर्न हुन्? समाज अमर्यादित देखाउनका लागि हो कि, मर्यादित देखाउनका लागि? समाजका फोहोर बाँड्नका लागि हो कि, समाजका राम्रा कुरा अरूलाई शेयर गर्नका लागि हो? अनेकन नकारात्मक कुराले समाजिक सञ्जालका भित्ता भरिन्छन्, तर सिर्जनशील कुरा साह्रै कम छन्।

त्यसैले पनि सामाजिक सञ्जाल केका लागि ? भन्ने प्रश्न उठेका हुन्। के सामाजिक सञ्जालका सीमा, आचारसंहिता र मर्यादा हुँदैनन्? यस्ता प्रश्नहरू बग्रेल्ती छन्।
सामाजिक सञ्जालका भित्ताहरूमा नेपाली प्रयोगकर्ताहरूले गरेको पोस्ट हेर्ने हो भने ठूलो प्रतिशत नकारात्मक धारणाको वर्षा देखिन्छ। यस्ता टीकाटिप्पणीका कति प्रतिशत सकारात्मक छन् कति नकारात्मक अहिलेसम्म अनुसन्धान नभए पनि नकारात्मक बढी छ भन्नेमा द्विविधा छैन।

जताततै नकारात्मक कुराको बाढी देख्दा अहिले सामाजिक सञ्जाल नै आवश्यक छैन कि भन्ने बहस पेचिलो बन्न थालेको छ, कतिपयले त सामाजिक सञ्जाल खासगरी फेसबुक चलाउन छोडेको पनि देखिन्छ। तर समाजिक सञ्जाल आवश्यक नै छैन भन्ने बहसचाहिँ त्यति तर्कपूर्ण भने देखिन्न। बरु समाजिक सञ्जाललाई सकारात्मक प्रयोग गर्न के गर्न सकिन्छ, त्यसतर्फ सोच्नुपर्छ।

छुद्र बहस र नकारात्मक टीकाटिप्पणीले सीमा नाघेको बेला त्यसलाई कसरी सीमाबद्ध गर्ने विषयचाहिँ यतिबेला ठूलै चुनौती बनेको छ। सामाजिक सञ्जाल मूर्खहरूको अखडा होइन, तर अनावश्यक पोस्टहरूले त्यस्तो देखाउन खोजिँदै छ। सामाजिक सञ्जालमा जे–जे आयो त्यति मात्रै सबै संसार पनि होइन, तर पनि केही चाहिँ हो। कि

नकि सामाजिक सञ्जाल वर्तमानमा सूचना आदानप्रदानको सशक्त माध्यम हो। सूचना र सञ्चारलाई शक्ति मान्न थालिएको आधुनिक युगमा यस्ता सूचनामूलक सञ्जालबाट टाढा रहन पनि सकिँदैन। त्यसैले यस्ता सञ्जाललाई राम्रोसँग सदुपयोग गर्न सके समाजलाई सकारात्मक धारमा अगाडि बढाउन सकिन्थ्यो, तर विडम्बना ! सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांश नेपालीहरूको मानसिकता दरिद्र हुँदै गयो। यो चाहिँ गम्भीर विषय हो।

दुई महिनाअगाडि नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई समयमै बोर्डिङ गर्न विमानस्थल आई नपुगेको भन्दै भैरहवामा बुद्ध एयरको जहाजले छोड्यो। त्यो बेला बुद्ध एयरले ठीक गर्यो भन्दै सञ्चारमन्त्रीमाथि नकारात्मक धारणा बसाइयो। दुई हप्ताअगाडि पर्यटनमन्त्री योगेश भट्टराईका लागि नेपालगन्जमा जहाज पर्खेर बस्यो, तर केही व्यक्ति मन्त्रीमाथि गाली गलौजमा उत्रिए।

नेपालगन्जमा मन्त्रीलाई गाली गर्नेलाई कास्कीमा प्रवेश निषेध भनेर सामाजिक सञ्जालमा अतिवादमाथि अर्को अतिवाद देखियो। सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको बोलीमाथि सामाजिक सञ्जालमा आएको असन्तुष्टिकै कारण मन्त्रीबाटै हटाइए। पत्रकार रवि लामिछानेको मुद्दामा सर्वसाधारणको भीडले अदालत र प्रहरी कार्यालयसमेत घेर्योे। आखिर जति घेरे पनि उनले कानुनी प्रक्रियामा प्रवेश गर्नै पर्यो।

डा. गोविन्द केसीका अनशनहरूमा हरेकपटक सामाजिक सञ्जाल भरिने नै गरेका छन्। पछिल्लोपटक सभामुख कृष्णबहादुर महराको विषयमा पनि सामाजिक सञ्जाल नकारात्मक टिप्पणीले भरिएका छन्। कतिपय व्यक्तिहरू गालीलाई राजनीतिक विश्लेषण ठानिरहेका छन्।

सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले बोलेको विषयदेखि हेलिकोप्टर खरिदसम्म र गोपाल पराजुलीको टीकाटालोको फोटोदेखि सरोज खनालले बाथरुममा कम्बर्टमाथिको फोटोलाई लिएर राष्ट्रपतिको सन्दर्भमा धेरै नकारात्मक टिप्पणी हुने गरेका छन्।

प्रधानमन्त्री केपी ओलीको बोलीमाथि व्यङ्ग्य गर्नेदेखि शेरबहादुर देउवाको बोलीमाथि व्यङ्ग्य गर्नेहरू पनि प्रशस्त छन्। मधेसकेन्द्रित नेताहरूलाई भारतीयको आरोप लगाई गाली गर्नेहरू हुन कि जनजातिलाई गाली गर्ने हुन् अथवा ब्राह्मण–क्षेत्रीलाई नश्लवादी आरोप लगाई गाली गर्नेहरू नै किन नहुन्, यी सबैले कुनै न कुनै रूपमा व्यक्तिको मर्यादामा चोट पुर्याएका छन्। विदेश बसेर नेपालका नेतालाई गाली गर्नेको त झनै बग्रेल्ती छ।

सामाजिक सञ्जालमा सार्वजनिक रूपमा कुनै व्यक्ति वा नेतालाई केही आरोप लगाए त्यसको पुष्टि कसैले गर्नुपर्दैन। गलत टिप्पणी गर्नेहरूमाथि विद्युतीय कारोबार ऐनबमोजिम भएका कारबाही पनि सांकेतिक मात्र देखिएका छन्।

पत्रपत्रिकामा आउने भ्रष्टाचारका विषय हुन् वा सामान्य व्यक्तिले कसैलाई भित्तामा पुग्ने गरी राखिएका छुद्र स्टाटस हुन्, सबैमा कुनै न कुनै कमेन्ट मर्यादा विपरीत भेटिन्छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरू स्वयंमा एक–आपसमा गाली गर्ने पनि छन्।

एकले अर्कालाई पार्टीको भक्तको आरोप लगाउने र सत्तोसराप गर्नेहरू पनि कम छैनन्। युुटुबमा राखिएका भिडियोमा होस् वा ट्वीट र रिट्वीटमा नै किन नहोस्, नकारात्मक कमेन्टहरू देखिन्छन्। जो पढ्न नै आपत्तिजनक पनि छन्।

विश्वव्यापी पहुँच रहेका यस्ता सञ्जालहरूमा भ्रामक सूचना, समाचार र खबर फैलिन कत्ति पनि बेर लाग्दैन। मानिसले भ्रामक समाचार प्रसारण गरेर एक मान्छेले अर्को मान्छेलाई क्षणभरमै उत्तेजित बनाइरहेको छ। फेरि एकैछिन्मा निराश पारिहेको छ।

मान्छे सामाजिक सञ्जालमा रोमाञ्चित मात्र होइन त्रसित पनि छ। आधारहीन कुराहरूलाई मान्छेले सत्य बनाउन खोजेको पनि देखिन्छ। फरक समय, सन्दर्भ र स्थानका फोटो र भिडियोहरू अर्कै सन्दर्भमा प्रकाशित र प्रसारित भएका पनि छन्। फोटोसप गरी नेताहरूका आपत्तिजनक फोटोहरू त सामाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छन्।

के हामीलाई मानवता, सहिष्णुता, ज्ञान, विज्ञान पूर्वाधार विकासका कुराहरू आवश्यक छैन ? आवश्यक छ भने हामी सामाजिक सञ्जालबाट विज्ञान र प्रविधिको उपयोगिता लिन–दिन सक्दैनौँ ? कतिपय अवस्थामा सामाजिक सञ्जाल आपतविपतमा सहयोग आह्वान र समायोजन गर्ने थलो पनि नबनेका होइनन्।

यसले कति दिनहीनहरूलाई अस्पतालमा उपचार गराएको पनि छ। कतिका खालि पेटहरू भरेको छ। धेरैको ज्यान जोगाएको पनि छ। सबैलाई रुवाएको मात्रै छैन, कैयनलाई हँसाएको पनि त छ। यो त संसार जोड्ने रसायन पनि त बनेको छ। तर यस्ता कुराचाहिँ अत्यन्तै न्यून मात्र देखिन्छ भने नकारात्मक कुराको चाहिँ बाढी चलेको छ।

राम्रा पुस्तकका अंशहरू, विद्वान्का भनाइहरू, उपयोगी स्वास्थ्य सल्लाहहरू, समाज निर्माणका कुराहरू, विद्वान्का प्रवचनहरूचाहिँ सामाजिक सञ्जालमा अत्यन्त कम पोस्ट हुन्छन्। कतिपय सकारात्मक सोच र चिन्तनका कुरा गुगलमा खोज्दा पनि पाइँदैन, तर हेर्नै मन नलाग्ने नकारात्मक कुराहरू सामाजिक सञ्जाल खोल्दा आफ्नो वालमा ट्याग गरेको भेटिन्छ।

यो हाम्रो विडम्बना हो कि, हामीले सामाजिक सञ्जालजस्तो उपयोगी माध्यमलाई विष बमन गर्ने स्थल बनायौँ। लाग्छ, हाम्रो सम्पूर्ण चिन्तन नै अब नकारात्मक धारमा अगाडि बढिरहेको छ। यसमा समाजको बाहिरी आवरणको दोष कि हाम्रो चिन्तन र विचारमा नै नकारात्मक रगत सल्बलाउन लागेको हो ? नकारात्मक नै हो भने त्यो नकारात्मक विचार कहाँबाट आयो ?

यो सबैको कारक तपाईं–हामी नै होइन र ? के यस्ता नकारात्मक टीकाटिप्पणीले कुनै समाज, देश सुध्रेको संसारमा कतै उदाहरण छ? इतिहास र उदाहरण छैन भने सोच, चिन्तन, विचार र अभिव्यक्ति आजैबाट बदलौँ। गरिब मानसिकता र छुद्र बहसबाट माथि उठौँ। सामाजिक सञ्जाललाई असामाजिक सञ्जाल नबनाऔं।

 

प्रतिक्रिया दिनुहोस्