ट्राफिक व्यवस्थापन



काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिन्छ । ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी अहोरात्र खट्दाखट्दै पनि यस प्रकारको अस्तव्यस्त देखिनु दुर्भाग्यपूर्ण छ । काठमाडौं उपत्यकाभित्र साँघुरो सडक, अत्यधिक सवारीसाधनको चाप नै ट्राफिक समस्या बढ्नुको कारण देखिन्छ । उपत्यकाभित्र बनेका सडक निर्माण सम्पन्न नहुँदै भत्कने गरेका छन् ।

सरकारी निकायहरूबीच नै समन्वय नहुँदा पालैपालो सडक भत्काउने र टाल्ने क्रमले निरन्तरता पाउँदै आएको छ । सडक निर्माण त हुन्छ तर गुणस्तरीय हुँदैन । सडकसँग सम्बन्धित निकाय सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, ढल निकास, खानेपानी विभागबीच नै पर्याप्त समन्वय हुनसकेको देखिँदैन जसका कारण एकैपटक हुने कामका लागि बारम्बार सडक भत्काउने रोगले निरन्तता पाउँदै आएको छ ।

प्रहरीले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यकाको मुख्य चोक–चोकमा सिसी क्यामेरा जडान गरेको छ । बढ्दो सवारी चापकका कारण सडकमा गुड्ने सवारीसाधनलाई व्यवस्थापन गर्न निकै चुनौती थपिँदै गएको छ ।

चोक–चोकमा रहेका ट्राफिक लाइट सञ्चालन नहुँदा थप चुनौती थपिएको छ । ट्राफिक व्यवस्थापन गर्न ट्राफिक लाइट निकै उपयोगी भए पनि समयमा नै मर्मत नहुँदा जडान भएका ट्राफिक लाइट पनि अलपत्र अवस्थामा छन् ।

सीमित ठाउँमा मात्र जडान गरिएको ट्राफिक लाइट जडानको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता छ । सबै यात्रुलाई गन्तव्यमा पुग्नका लागि हतारो हुने गरेको छ । तर, ट्राफिक जामका कारण समयमा नै गन्तव्यमा नपुगिने अवस्था रहेको छ । ट्राफिक लाइट जडान गरेको अवस्थामा जनशक्तिसमेत थोरै मात्र परिचालन गर्दा पुग्ने हुन्छ ।

ट्राफिक लाइट नहुँदा दिनभर ट्राफिक प्रहरीहरू हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । प्रविधिको उपयोग गर्नका लागि सरकारले ध्यान दिनुपर्छ । सडक विभाग, काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर उपत्यकाको सवारी आवागमन व्यवस्थित बनाउनतिर ध्यान दिनुपर्छ ।

सरकारले आधुनिक र व्यवस्थित पार्किङको काममा ढिला गर्नुहुँदैन । काठमाडौं उपत्यकाभित्र सार्वजनिक पार्किङस्थल नहुँदा सडकमै सवारी पार्किङ हुने गरेको छ जसका कारण सवारी सञ्चालनमा मात्र होइन पैदल यात्रुलाई सडकमा आवत–जावत गर्नसमेत कठिनाइ हुँदै आएको छ ।

उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा राष्ट्रिय राजमार्ग, सहायक मार्ग ग्रामीण र शहरी सडक गरेर करिब २ हजार १४ किलोमिटर सडक रहेको छ । उपत्यकाभित्र विभिन्न नाकाबाट दैनिक ४५ हजार यात्रु र ८ हजार सवारीसाधन भित्रने र बाहिरिने गरेका छन् ।

ट्राफिक जाम कम गर्नका लागि ट्राफिक प्रहरीले अघि सारेको योजनालाई यात्रुले पनि साथ दिनुपर्छ । आकाशेपुल र जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने र लेनको पालना गर्दा पनि ट्राफिक व्यवस्थापन सहज हुन सक्छ ।

त्यसै गरी सडकमा सवारीसाधन पार्किङ गर्नेमाथि ट्राफिक प्रहरीले सञ्चालनको अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ, जसका कारण उपत्यकाभित्र अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापन सहज हुन सक्छ । भ्रमण वर्ष–२०२० लाई सफल बनाउका लागि पनि यस क्षेत्रमा ध्यान दिनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्