ए नारान



काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को यसपटकको सम्मेलन अर्थात् ‘घरेलु पिकनिक’ विशेष भएको छ। आफूलाई वरिष्ठ जेन्टलम्यान ठान्ने पिकनिक प्रतिनिधिले आफ्नो असली परिचय देखाएसी एनआरएनएको खास नाम ‘ए नारान’ राख्दा उपयुक्त हुने धरहराको ठहर छ।

विदेशमा छँदा राष्ट्रभक्ति र देशप्रेमको नारा घन्काउने तर त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै देशको बदनाम गराउन बिच्किएको साँढेझै बबन्डर मच्चाउने महासयहरूलाई के भन्ने र खै? विदेशमा छँदा इमानदारपूर्वक कानुनको पालना गर्ने तर स्वदेशमा कानुनलाई ‘जाबो’ ठान्ने वरिष्ठहरूको चर्तिकला देखेर धरहरा मात्रै होइन आम नेपाली तीन छक पर्या छन्।

विदेश पुगेर पाउन्ड, डलर, युरो र अन्य खै के के नामका पैसा कमाउँछु, अंग्रेजी र युरोपेली भाषा खरर बोल्छु भन्दैमा संस्कार र संस्कृति कहाँ उच्च हुन्छ र भन्या? त्यसैले धरहरा निर्धक्क भन्छ– विदेश जाँदैमा, चिल्ला गाडी र चिल्लो सडक अनि समुद्र किनारमा फोटो सेसन गर्दैमा जेन्टलमेल बन्न सकिन्न, नानीदेखिको बाँदरचाला पनि त्याग्न सक्नुपर्छ। डलरले संस्कारलाई चटक्कै बिर्साएसी बाँदरकला झनै हराभरा हुने हो कि?

प्रतिक्रिया दिनुहोस्