महानगरको सौन्दर्य



विदेशी पाहुना नेपाल आउँदा सडक सफा गर्नेदेखि बिरुवा रोप्ने र ढकमक्क फूल फुलेका गमला राख्ने गरिन्छ । तर, पाहुना फर्र्किएको केही घण्टामा सडक सौन्दर्यलाई ख्यालै नगरी सबै सजाएका सामग्री बेपत्ता पारिने चलन छ । अहिले राजधानीमा त्यस्तै देखिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने भ्रमण सकाएर स्वदेश फर्किएलगत्तै गमला हटाइएको छ । विदेशी पाहुना नेपाल आउँदा सडकभर राखिएको गमला दुई रातपछि नै हटाइएका कारण पुनः उजाड देखिएको छ । सरकारले सात हजार फूलसहितको गमला सडक छेउ र पेटीमा सजाएको थियो ।

गमलासहितको फूल चोरी हुने भयले वनस्पती विभागले ती गमला हटाएको बताइएको छ । केही नर्सरी व्यवसायीसंँग भाडामा ल्याइएका ती गमला हटाइएपछि सडक र पेटीको सैन्दर्यसमेत हराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी र त्रिपुरेश्वरदेखि राष्ट्रपति भवन शीतल निवाससम्म गमला राखिएको थियो । चिनियाँ राष्ट्रपति आउँदा मनै लोभिने गरी सजाइएको राजधानी अहिले उराठजस्तै भएको छ ।

सरकारले गमला र फूलको बिरुवा चोरी हुन थालेपछि सडक र सडक पेटीमा राखिएको गमला हटाइएको तर्क दिएको छ । विभागले करिब ५० वटा फूलसहितको गमला चोरी भएको जनाएको छ । हुन पनि केही नेपालीहरूको त्यस्तै व्यवहार छ । बाटोमा देखिएका गमलासहितको फूल चोरी गरेको भेटेपछि ती गमला हटाउन थालिएको कुरामा विश्वास गर्नु नपर्ने कुनै कारण छैन ।

किनभने हामीकहाँ सडकलाई सम्मान गर्ने सभ्यताको विकास भएन । तीनकुनेको खाली जग्गामा सवारी साधन पार्किङ, झाडी देखिने तीनकुनेमा रातारात बगैंचा बनाइएकोमा त्यसलाई सधैं जोगाउने बाटोतिर लाग्नुपर्नेमा बिगार्नेतिर नागरिकहरू नै लाग्नु दुर्भाग्यपूर्ण छ । करिब ३० लाख रुपियाँ खर्च गरी बनाइएको तीनकुने पार्कमा चाइनिज दुबोको चपरी राखिएको थियो ।

काठमाडौं महानगरपालिकाले संरक्षण गरेको तीनकुनेमा रोपिएको दुबोको चपरी चोरी भएपछि कामपाले सुरक्षा निकायलाई समेत संरक्षणका लागि आग्रह गरेको छ ।अहिले तीनकुने पार्कको दुबोलगायत बिरुवा जोगाउन सशस्त्र प्रहरी खटिएका छन् ।

राजधानीको पार्क, आइल्यान्ड, बाटो किनारमा रोपिएको बिरुवाले शहरको सौन्दर्य बढाउने देख्दादेख्दै बिरुवा र गमला चोरी गर्नु ठूलो अपराध हो । शहरलाई सुन्दर बनाउने जिम्मा लिएको काठमाडौं महानगरपालिकाले शृंगार र सौन्दर्य बचाइराखे अर्को पाहुना आउँदा राज्यको ढिकुटी दोहोर्याएर खर्च गर्नु पनि पर्नेछैन ।

शहरमा हरियाली र सफाइ कायम राखिए त्यसको लाभ नगरबासीलाई नै हो । विदेशी पाहुना नेपाल आउँदा लाखांै रुपियाँ खर्चिएर सुन्दर बनाइएको राजधानीलाई थप सुन्दर बनाउन थप योजना लाउनु आवश्यक छ ।

आकस्मिक योजनाअनुसार सुन्दर बनाइएको शहरलाई नियमितरूपमा हरियाली कायम गर्नु सरकारकै कर्तव्य हो । विदेशी पाहुना आउँदा लाखौं रुपियाँ खर्च गर्ने अनि पाहुना गइसकेपछि शहरी सौन्दर्यप्रति वास्ता नगर्ने पुरानो परम्परा हटाउनुपर्छ । सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिनु स्वागतयोग्य हुनेछ । आन्दोलनमा मात्र बढी सक्रिय रहने सशस्त्र प्रहरी भौतिक सम्पत्तिको सुरक्षामा पनि खट्नेछ ।

प्रतिक्रिया दिनुहोस्