स्पेन युरो कपमा छनोट



लन्डन, (एजेन्सी)।तीन पटकका यूरोपियन च्याम्पियन स्पेन यूरोकप २०२० का लागि छनोट भएको छ।युरोकप छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली स्वीडेनसँग १–१ बराबरी खेल्दै स्पेन छनोट भएको हो। समूह एफ मा स्पेनको ८ खेलबाट २० अंक पुगेको छ भने स्वीडेन १५ अंकसहित छनोट नजिक रहेकोे छ।

स्वीडेनका लागि मार्कुस वर्गले गोल गर्दै अग्रता लिएपनि स्पेनका रोड्रिगोले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए। सोही समूहको अर्काे खेलमा रोमानिया र नर्वेले पनि १–१ बराबरी खेल्दै अंक बाँडे।

रोमानिया १४ अंक जोडेर तेस्रो र ११ अंक जोडेको नर्वे चौथो स्थानमा छ। त्यस्तै आयरल्यान्डले घरेलु टोली स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै युरोकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको छ। समूह ‘डी’को शीर्षस्थानमा रहेको आयरल्यान्डले ७ खेलबाट १२ अंक जोडेको छ।

आयरल्यान्डले छनोटको अन्तिम खेलमा डेनमार्कसँग जित हात पारे युरोकपमा छनोट हुनेछ। पराजित भएको अवस्थामा भने अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

स्वीट्जरल्यान्ड ६ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। यही समूहको अर्काे खेलमा जर्जियाले जिब्राल्टारलाई ३–२ ले पराजित गरेको छ।

इटालीको सहज जित

युरोकपमा स्थान पक्का गरिसकेको इटालीले युरोकप छनोटमा मंगलबार राति घरेलु टोली लिचेस्टाइनमाथि ५–० को प्रभावशाली जित निकालेको छ। इटालीको फराकिलो जितमा एन्ड्रिय बेलोटीले दुई तथा फेडरिको बर्नारडेस्ची, एलेसियो रोमागनोली र स्टेफन अल सरावेले गोल गरे।

एकपक्षीय बनेको खेलमा इटालीले पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा ४ गोल थप्न सफल भएको थियो।जितसँगै समूह ‘जे’ मा इटाली अपराजित रहँदै ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ। लिचेस्टाइन २ अंक जोडेर पुछारमा छ।

यही समूहको अर्काे खेलमा फिनल्यान्डले आर्मेनियामाथि ३–० को सहज जित निकाल्दै छनोट हुने सम्भावना बलियो बनायो। जितसँगै फिनल्यान्डको ८ खेलबाट १५ अंक छ। आर्मेनिया १० अंक जोडेर तेस्रो स्थानमा छ।

अर्काे खेलमा ग्रीस बोस्निया हर्जगोभिनालाई २–१ ले पराजित गरेर ८ अंकमा पुगेको छ। जब कि बोस्निया हर्जगोभिनाको १० अंक छ। त्यस्तै समूह ‘जी’ को खेलमा इजरायलले लात्भियालाई ३–१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्