पिङ बनाउने सनपाटको खेती घट्दै



नेपाल समाचारपत्र, भद्रपुर।झापामा सनपाटको खेती हराउँदै गएको छ। केही वर्षयताबाट सनपाटको खेतीलाई परिवर्तन गरी धान वा मकै लगाउन थालेपछि यो खेती लोप हुँदै गएको हो।
अन्य खेतीभन्दा सनपाट झन्झटिलो र बढी मिहिनेत गर्नुपर्ने भएकोले परापूर्वकालदेखि गर्दै आइरहेको खेती अहिले थोरै मात्र क्षेत्रफलमा लगाउँदै आएको सनपाट कृषक बताउँछन्।

सनपाटको मूल्य नेपालमा भन्दा भारतमा दोब्बर बढी छ। नेपालमा प्रतिकिलो २० रुपियाँ पर्ने सनपाट भारतमा ४० रुपियाँमा बिक्री हुने गरेको केचनकवल–३ डाँगीबारीका महेन्द्र राजवंशी बताउनुहन्छ।

सनपाटको खेती ३ कठ्ठामा लगाइएको राजवंशीले बताउनुभयो। सनपाटभन्दा छिटो आम्दानी दिने बैगुन, टमाटर, कोपी लगाउँदा सजिलो हुने भएकाले सनपाटलाई आवश्यकताका लागि मात्र प्रयोग गर्दै आइरहेको उहाँले बताउनुभयो।

प्रतिफल दिने अवस्थामा आइपुग्न ३ महिना लाग्ने भएकाले यो खेती गर्न मन मर्दै आएको जाङ्ठेल राजवंशीले बताउनुभयो। व्यावसायिक नभई घर खर्चको लागि हाल २ कठ्ठा क्षेत्रफलमा मात्र खेती गर्दै आएको उहाँले सुनाउनुभयो।

नुन तेल खरिदका लागि र पूर्खाले गर्दै आएको खेतीलाई नछाडे पनि अबको सन्ततीले यसको खेती नगर्ने पक्का भएको उहाँले सुनाउनुभयो। सनपाटको उत्पादन गर्दा प्रति कठ्ठा १२ सय रुपियाँ भन्दामाथि खर्च हुने उहाँले बताउनुभयो। सनपाट लगाए पनि पोखरी नहुँदा टाढासम्म बोकेर लैजानु पर्ने बाध्यता उहाँले सुनाउनुभयो। सनपाट लिन भारतबाट नै व्यापारी आउने गरेको उहाँहरूको भनाइ छ।

सरकारले सिँचाइको सुबिधा उपलब्ध गराएपछि पानी नपुग्ने जमिनमा समेत सनपाट भन्दा अन्य खेती लगाएका कारण पनि सनपाटको खेतीमा कमी हुँदैगएको कृषकको भनाइ छ।
झापाको केचना, भद्रपुर, पृथ्वीनगर, वनियानी, गौरीगञ्ज, शिवगञ्ज, कोहवरालगायतका स्थानमा खेती गरिँदै आइरहेको पाइन्छ।

चौपाया बाध्न र पिङ बनाउनको लागि चाहिने सनपाटसमेत पाइन छोडेको कमल गाउँपालिका–६ का कृष्णप्रसाद गौतमले बताउनुभयो। कतैकतै महंगो मूल्यमा पाए पनि डोरी बनाउने सीप नभएपछि पछिल्लो समय प्लास्टिकका डोरीले बजार लिएका कारण पनि सनपाट हराउँदै गएको गौतमले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्