प्रभावकारी बन्दै कपडा बैंक : पुराना कपडा दान दिएर पनि धर्म कमाउन सकिने



नेपाल समाचारपत्र, हेटौंडा।हेटौंडामा केही समयअघि खुलेका कपडा बैंक प्रभावकारी बनेका छन्। केही महिनाअघि हेटौंडामा हेटौंडा युवा अभियान र लायन्स क्लब अफ हेटौंडा भुटनदेवी र तरुण दलले सञ्चालन गरेको बैंकबाट हालसम्म १ हजार भन्दा बढी लुगाकपडा विपन्न तथा असहायले लगिसकेको कार्यक्रमका अभियन्ताले जानकारी दिएका छन्।

हेटौंडामा हाल पाँच वटा कपडा बैंक सञ्चालनमा छन्। हेटौंडा युवा अभियानले हुप्रचौरमा, लायन्स क्लबले सुमार्गी कम्प्लेक्समा र तरुण दल मकवानपुरले सानोपोखरा, बसपार्क र चौकीटोलमा बंंैक स्थापना गरेको छ।लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अभियन्ता अंकिता सुमार्गीले दशैैंको समयमा थुप्रै कपडा गएको बताउनुभयो।

‘नौरथा शुरू हुनुअघि दैनिक १० देखि २० जनासम्म आउँथे। नौरथा शुरू भएपछि दैनिक ६० देखि ८० जनासम्मले कपडा लिएका छन्,’ सुमार्गीले भन्नुभयो। अन्य समयभन्दा दशैंको बेला विपन्न परिवारले कपडा लगेको उहाँले जानकारी दिनुभयो।

तरुण दलले खोलेको तीन स्थानका कपडा बैंकमा पनि अधिक चाप रहेको दल अध्यक्ष तथा अभियन्ता ईश्वर पाठकले बताउनुभयो। सुकुम्वासी टोलका कडा परिश्रम गर्ने कामदार, विपन्न समुदाय र वृद्धवृद्धा बैंकबाट लाभान्वित भएको पाठकको भनाइ छ।पाठकका अनुसार बसपार्क क्षेत्र भएका कारणले दैनिक ३० देखि ४० जनासम्मले कपडा लैजाने गरेका छन्।

‘तरुण सदस्यले नै कपडाको व्यवस्था गरिरहेका छौं,’ पाठकले भन्नुभयो– ‘दैनिकजसो कपडा आइरहेका हुन्छन्। कपडा आउने बित्तिकै बैंकमा राख्छौं।’छोटो अवधिमा धेरै विपन्नले कपडा बैंकबाट फाइदा लिएको हेटौंडा युवा अभियान सचिव रोयल बानियाँले बताउनुभयो। उहाँका अनुसार बैंकमा कपडा दिन आउनेको संख्या पनि बढेको छ। सामाजिक उत्तरदायित्व निर्वाह हुने र विपन्न र सहयोगी मनलाई जोड्न बैंक प्रभावकारी बनेको उहाँको भनाइ छ।

आफूले लगाएका पुराना तथा पुनः प्रयोग गर्न मिल्ने खालका कपडा बैंकमा सहयोग गर्न सकिने अभियन्ता सुमार्गीको भनाइ छ। आफूले लगाइसकेको तर प्रयोग गर्न मिल्ने खालका कपडा छन् भने कपडा बैंकमा ल्याएर जम्मा गर्न सकिनेछ। ‘कतिपयका घरमा कपडा यत्तिकै फाल्तु बसिरहेका छन् भने त्यसलाई सफा गरेर बैंकमार्फत् विपन्नलाई सहयोग दिन सकिन्छ,’ उहाँले भन्नुभयो।

कपडा बैंकमा लगाइएका कपडामात्र नभएर कसैले नयाँ लुगा किनेर दिए पनि आफूहरूले वितरण गर्ने हेटौंडा युवा अभियान सचिव बानियाँले बताउनुभयो। लक्षित समुदायलाई सहयोग गर्न चाहनेले नयाँ कपडासमेत ल्याएर दिनसक्ने उहाँले बताउनुभयो। जाडोको समयमा यो अझ प्रभावकारी हुने अभियन्ता पाठकको विश्वास छ।

चारवटा कपडा बैंक ओत लाग्ने घरजस्तोमा राखिएका छन् भने अर्र्को सुमार्गी कम्प्लेक्सको सटरमा राखिएको छ। सामाजिक सञ्जालमा फोटा देखेर कपडा बोकर ल्याउनेको संख्या बढिरहेको अभियन्ता सुमार्गीले बताउनुभयो। कपडा आवश्यक हुनेले खुसी हुँदै लगिरहेका भेटिन्छन्।

हाल बनाइएको स्ट्यान्डमा १ सय जोरसम्म लुगा राख्न मिल्ने सुमार्गीले बताउनुभयो। बैंक सोचेभन्दा सफल बनेको उहाँले दाबी गर्नुभयो। ‘थुप्रै सहयोगी हातले साथ दिएका छन्। लिन आउने र दिन आउनेको चासो उत्तिकै छ,’ सुमार्गीले बंैंकबाट एक सातामा एक सय जनाले कपडा लगिसकेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्