राष्ट्रपति म्यानमार प्रस्थान,सडक जाम हुने भन्दै हेलिकोप्टर चढेर विमानस्थल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन्।उनी सिधैं शीतलनिवासबाट हेलीकोप्टर चढेर विमानस्थल पुगेकी हुन्।

सडक जाम हुने भएपछि राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर विमानस्थल पुगेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए। यसअघि सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी हुने छ । साथै नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने कार्यक्रम राखिएको छ ।

म्यान्मारको राजधानी यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्