वर्षौंदेखि खानेपानीको समस्या



बैतडी, (नेस)।बैतडीको पुर्चौंडी नगरपालिका–६ त्रिकालीका स्थानीय बासिन्दा बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। गाउँमा खानेपानीको व्यवस्था नहुँदा १ किलोमिटर टाढाको मूहानबाट खानेपानीको जोहो गर्नुपरीरहेको स्थानीय डबलबहादुर साउदले जानकारी दिनुभयो।

खानेपानीकै जोहो गर्न मुस्किल हुँदा आफूलाई सरसफाइका लागि समेत समस्या भएको उहाँको भनाइ छ। देश नै खुलादिसामुक्त घोषणा भइसकेको अवस्थामा पानीको अभावमा त्रिकालीमा भने शौचालय प्रयोगमा ल्याउन सकस भएको छ।

खानपीन, सरसफाइ र वस्तुभाउका लागि १ किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्दा निकै समस्या हुने गरेको स्थानीय प्रमिला साउदले जानकारी दिनुभयो। खानेपानीको जोहो गर्न निकै मुस्किल हुने गरेको छ। उहाँले भन्नुभयो ‘गाउँबाट टाढा रहेको एकमात्रै मूहान रहेको र सो मूहानमा समेत पानी कम हुँदै गएको छ।’

गाउँमा खानेपानीको व्यवस्थाका लागि नगरपालिका, वडा कार्यालयलाई पटक पटक आग्रह गर्दासमेत खानेपानीको समस्या समाधान हुन नसकेको स्थानीय अमर साउदले जानकारी दिनुभयो।
स्वच्छ खानेपानीको उपभोग गर्न पाउनुपर्ने संविधानले उल्लेख गरेको भएपनि आफूले सो अधिकारको उपभोग गर्न नपाएको त्रिकालीवासीको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्