सांसद आलमलाई सात दिन थुनामा राख्न अदालतको निर्देशन



सञ्जय कार्की, रौतहट ।

रौतहट प्रहरीले पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई जिल्ला अदालत गौरले प्रहरी अनुसन्धानको लागि सात दिनको म्याद थप अनुमुति दिएको छ ।

पहिलो संबिधान सभाको निर्बाचनको अघिल्लो दिन ०६४ चैत्र २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोट घटनाको अनुसन्धान गर्न प्रहरी लाई जिल्ला अदालत गौरका ५ नम्बर न्यायधिश चित्र बहादुर गुरुङ्गको ईजलासले गत आईतबार देखी लागु हुने गरी सात दिनको म्याद दिएको हो । अदालतका तहसिलदार सुर्य प्रसाद तिमल्सिनाले भने घटनाको अनुसन्धान गर्न प्रहरी लाई अदालत बाट सात दिनको म्याद दिइएको बताउनु भयो ।

रौतहटको निर्बाचन क्षेत्रनम्बर २ बाट निर्बाचित मोहम्मद अफताब आलम लाई ०६४ चैत्र २७ गते दुई जना लाई बमबिस्फोट र दुई जनाको कर्तब्य ज्यान मुध्दामा प्रहरीले गत आईतबार पक्राउ गरेको हो । त्यस समयमा उनले निर्बाचनमा बिजयी हुनको लागि बुथ कब्जा गर्न उदेश्यले प्रयोग गरिएका ब्यक्तिको बम बनाउने क्रममा बिस्फोट हुदा मृत्यु भएको आरोप निलम्बित सांसद मोहम्मद अफताब आलम उनका भाई महफताब आलम, शेष भदैई, मोबिल आलम र शेष सराज लगायत माथि लगाइएको छ ।

रौतहटको तत्कालिन राजपुरफरहदवा गा.वि.स. वडा नं. ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन हुँदा सोही स्थानमा २२ बर्षिय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र २२ बर्षिय ओसी अख्तरको मृत्यु भएको दाबी रहेको छ । म्याद थप गर्न अफताब आलम लाई अदालत लैजाने क्रममा सुरक्षा ब्यबस्था कडा पारिएको थियो । त्यस समयमा पीडितपक्षले हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तब्य ज्यान सम्बन्धि किटानी जाहेरी दर्ता गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले मिसिल संलग्न प्रमाण कागजातबाट वारदातसम्म पनि स्थापित नभएको भन्दै कसैउपर मुद्दा नचलाउने निर्णय गरी सरकारी मुद्दा सम्बन्धि ऐन, २०४९ को दफा १७(२) अनुसार निकासार्थ पुनरावेदन सरकारी वकील कार्यालय, हेटौंडामा पठाइएकोमा उक्त कार्यालयबाट पनि जिल्लाकै राय सदर भई अन्तिम निर्णयको लागि महान्याधिवक्ताको कार्यालयमा पेश भएकोमा कर्तव्य देखिएमा पछि मुद्दा चलाउन सकिने हुँदा हाल कोही कसैउपर मुद्दा नचलाउने राय सदर हुन्छ भन्ने समेतको ०६५ असाढ ३० गते निर्णय भएबमोजिम २०६५ साउन २ गते सक्कल मिसिल जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको थियो ।

त्यस उपर रौतहट जिल्लाका तत्कालिन सरुअठा गाबिस वडानम्बर २ निबासी नारायणसिह राजपुत समेतले महान्यायधिबक्ताको कार्यालय बिरुद्ध सर्बोच्च अदालतमा मुध्दा दायर गरेको थियो । सर्बोच्च अदालतको तत्कालिन न्यायधिश शुशिला कार्की र न्यायधिश भरत बहादुर कार्कीको ईजलासले ०६९ जेष्ठ १६ गते उत्प्रेषण आदेश जारी गरेपछि मोहम्मद अफताब आलम लाई प्रहरीले बाह बर्ष पछि पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । सर्बोच्च अदालतको फैसला कार्यान्वय ईकाई सो आदेशको कार्यान्वयनको लागि दश पटक भन्दा बढि ताकेता रौतहट प्रहरी लाई गरेको थियो ।

प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले सर्बोच्च अदालतको आदेश अनुसार मोहम्मद अफताब आलम माथि बम बिस्फोट घटनाको अनुसन्धान अघि बढाइएको बताउनु भयो । सो घटनामा मृतक पिन्टु भन्ने त्रिलोक प्रताप सिंहका बुवा नारायण सिहले प्रहरीले अनुसन्धान गरेपछि आफुलाई न्यायको आश पलाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्