आँगनमै आँखा जाँच, नि: शुल्क चश्मा



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

जिल्लाको विकट भुगोलमा रहेको जुगल गाउँपालिकामा निशुल्क आँखा शिविर गर्दै यसभेगका जनतालाई घरआँगनमै सेवा प्रदान गरिएको छ । स्वास्थ्यसेवाको पहुँचबाहीर रहेका यसभेगका स्थानीयलाई जुगल गाउँपालिकाको केन्द्र ढाँडेबजारमै शिविर राखेर निशुल्क आँखा जाँच गरिएको हो ।

आँखा जाँचपछि उनीहरुलाई आवस्यक्ता अनुसारको चश्मा पनि निशुल्क वितरण गरिएको छ । आँगनमै आँखा जाँचको सेवा र निशुल्क चश्मा पाएपछि शिविरमा सहभागीहरु खुसी देखिन्थे । ‘शहर जान सकिँदैन, गाउँमै आँखा जाँचेर चश्मा पाईयो’, जुगल गाउँपालिका ५ बराम्चीका माईला लामा भन्दैथिए, ‘आँखा जाँच्ने ठूलो धोको थियो, आज पुरा भइदियो ।’

ढाँडेबजारमा निशुल्क आँखा शिविर सुरु हुँदैछ भन्ने सुनेपछि गुम्बा, गोल्चे, पाङताङ, सेलाङ र आसपासका गाउँबस्तिबाट आँखाको समस्या भोगीरहेका स्थानीयवासी सोमबारदेखि नै ढाँडे झरेका थिए । घरपायकमै आँखा जाँच र निशुल्क चश्मा पाएपछि जुगल २ गोल्चेका मीनबहादुर भुजेलका मुहारमा हर्षको सीमा नै थिएन । गाउँपालिकाबाट आँखा जाँच छ भन्ने सूचना पाएपछि ढाँडे झरेको उनले बताए ।

‘आँखाको समस्या थियो, निशुल्क शिवीर छ भनेर गाउँपालिकाले कागज पठाएछ’ उनी भन्दैथिए, ‘खबर पाएपछि आँखा जाँच्न बिहानै आइपुगेँ ।’ जुगलभेगका जनताको सुविधाका लागि निशुल्क आँखा शिविर संचालन गरिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो । ‘उहाँहरुलाई आँखा जाँच गर्नका लागि चौतारा पुग्नुपथर््यो, आज गाउँमै सेवा पाउँनुभयो’, जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले भन्नुभयो । आगामी दिनमा पनि जनताका स्वास्थ्यलाई ध्यानमा राखेर गाउँगाउँमा यस्ताखाले स्वास्थ्य शिविर संचालन गर्दै जाने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । ‘हामी आगामी दिनमा पनि यस्ता निशुल्क स्वास्थ्य शिविर लिएर गाउँगाउँमा जानेछौं’, उहाँले भन्नुभयो ।

भीजन फर अल र जुगल गाउँपालिकाको सहयोगमा सोमबारदेखि ३ दिने निशुल्क आँखा शिविर संचालन भएको हो । भीजन फर अलले स्वीडेनबाट बरिष्ठ डाक्टरहरु ल्याएर जुगलभेगका जनताको आँखा जाँच गरिरहेको छ । स्वीडेनबाटै चश्मा ल्याएर आँखाका बिरामीहरुलाई बितरण गरिएको भीजन फर अलका नेपाल कोअर्डिनेटर लीला बानियाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्