कुलेखानी तेस्रोको परीक्षण उत्पादन सुरु



नेपाल समाचारपत्र, हेटौंडा।स्थानीय भीमफेदी गाउँपालिका–१, सानुटारस्थित कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ। कुलेखानी तेस्रोको वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता छ।कुलेखानी तेस्रोले सोमबारदेखि विद्युत्को उत्पादन परीक्षण शुरू गरेको आयोजनाले जनाएको छ।

कुलेखानी तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौंस्थित विद्युत्को केन्द्रीय ग्रीडमा जोडिएको आयोजनाले जनाएको छ।कुलेखानी तेस्रोको ४ दशमलव २ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो। विद्युत् गृहका टर्वाइन र जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान सम्पन्न गरी परीक्षण काम भएको छ।

करिब १२ वर्षअघि निर्माण सम्झौता भए पनि विद्युत् उत्पादन सोमबार शुरु भएको हो। २०६४ चैतदेखि काम शुरु गरिएको आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो।पटक–पटकको म्याद थपसँगै लागत करिब २ अर्ब बढेको छ।

कुलेखानी तेस्रोको शुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात् प्रतिमेगावाट १७ करोड ३६ लाख रुपियाँ थियो। यसको लागत बढेर ४ अर्ब ६३ करोड अर्थात प्रतिमेगावाट ३१ करोड पुगेको छ। विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजना निरन्तरको प्रयासपछि करिब पूरा भएर विद्युत् उत्पादन गर्ने अवस्थामा पुगेको हो।

असारअघि नै विद्युत् उत्पादन लक्ष्य राखेर काम भएको थियो। कुलेखानी तेस्रो, कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो। नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भएको आयोजनाको शुरुको लागत २ अर्ब ३३ करोड थियो।

निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी जे जियाङ जिल्लुनले काममा ढिलाइ गर्दा लागत बढ्न गएको आयोजनाले जनाएको छ। आयोजना निर्माणको सुरुवाती चरणमा चिनियाँ कम्पनी जे जियाङ जिल्लुनको बेवास्ता र स्थानीयले पटक/पटक आन्दोलन गर्दा आयोजनाको काममा अवरोध पुगेको थियो।

कुलेखानी प्रथम र दोस्रो आयोजनाबाट निस्केको पानीबाट नियमित क्षमताअनुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजना प्रमुख सुबासकुमार मिश्रले बताउनुभयो। उहाँले कुलेखानी तेस्रो आयोजनाको निर्माण अवधि विभिन्न कारण लम्बिए पनि अब कुनै कारणबाट विद्युत् उत्पादनमा अवरोध नपुग्ने बताउनुभयो।

कुलेखानी पहिलो आयोजनाबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्र तेस्रो आयोजनामा विद्युत् उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने कुलेखानी तेस्रो प्रमुख मिश्रले बताउनुभयो। आयोजनाले कुलेखानी जलाशयको नियमित बहाब र खानीखोलाको थप पानी प्रयोग गर्नेछ।

मकवानपुरमै रहेको कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। मकवानपुरमा निर्माण भएका दुई जलविद्युत् आयोजनाले उत्पादन शुरु गर्दा कुलेखानी तेस्रो जलविद्युत् आयोजना र निजी क्षेत्रको बागमती खोला साना जलविद्युत् आयोजनाबाट ३६ मेगावाट विद्युत् थपिएको छ।

बागमतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाएर कुलेखानी, बागमती र कोगटेको पानी छेकेर सुरुङमार्फत् इपाको बगरबेसीमा विद्युत् उत्पादन गरिएको छ। कुलेखानी तेस्रो निर्माण थालिएको आठ वर्षपछि बागमती शुरु गरिएको थियो।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा निर्माण भएको बागमती साना जलविद्युत् आयोजनाले उत्पादन थालिसकेको छ। निर्माणको काम सकेर आयोजनाले २०७५ चैतबाट उत्पादन थालेको हो। यससँगै मकवानपुरले हेटौंडाको चौकीटोलमा स्थापित डिजल केन्द्रसहित जोड्दा १ सय ४२ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्