बनर्जी, डुफेलो र क्रेमर संयुक्तरूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मान



ओस्लो, (एजेन्सी)।अमेरिकी अर्थशास्त्री माइकल क्रेमर, अभिजित बनर्जी र इस्टर डुफेलोलाई संयुक्तरूपमा यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।
इस्टर डुफलो भारतीयमूलका अमेरिकी अर्थशास्त्री अभिजित बनर्जीकी पत्नी हुन्। उनीहरू तीनैजनालाई विश्वभरिबाट गरिबी हटाउन व्यावहारिक विचारका लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको हो।

विगत दुई दशकमा उनीहरूका सिद्धान्तको ठूलो योगदान रहेको मानिन्छ। विश्वभरि गरिबको आवादी ७० करोडको आसपास मानिन्छ। अभिजित बनर्जीकै एक अध्ययनमा भारतमा विकलांग बच्चाहरूको स्कुल शिक्षाको व्यवस्था व्यवस्थित बनाइएको छ। जसले करिब ५० लाख बच्चालाई फाइदा पुगेको छ।५८ वर्षीय बनर्जी हाल अमेरिकामा म्यासाच्युसेट्स अफ टेक्नोलोजीमा अर्थशास्त्र अध्यापन गरिरहेका छन्।

त्यसै गरी उनकी पत्नी डुफलोले पनि सोही विश्वविद्यायमा अध्यापन गरिरहेकी छन्।डुफलो अर्थशास्त्रमा नोबेल जित्ने सबैभन्दा कम उमेरकी महिला बनेकी छिन्। अर्थशास्त्रमा नोबेल जित्ने उनी दोस्रो महिला हुन्।

पुरस्कारको घोषणापछि आयोजित पत्रकार सम्मेलनमा डुफेलोले भनिन्– ‘महिला पनि सफल हुन सक्छन्, यसले कयौं महिलालाई प्रेरणा मिल्नेछ र धेरै पुरुषहरू महिलालाई सम्मान गर्न सक्नेछन्।’

बनर्जीले सन् १९८१ मा कोलकाता युनिभर्सिटीबाट बीएससी गरेका थिए। त्यसपछि सन् १९८३ मा जवाहरलाल नेहरू युनिभर्सिटीबाट उनले एमएको पढाइ पूरा गरे। सन् १९८८ मा उनले हार्भर्ड युनिभर्सिटीबाट पीएचडी पूरा गरेका थिए।

अभिजित बनर्जीले राहुल गान्धीको न्याय योजनाको प्रारूप तयार गरेको बताइएको छ। यस्को पुष्टि राहुल गान्धी आफैंले गरेका छन्। उनले ट्विटमा अभिजितले न्याय योजना तयार गरेको लेखेका छन्। जसमा गरिबी निर्मूल पार्न र भारतीय अर्थव्यवस्थालाई सही दिशामा ल्याउने क्षमता छ।

यसबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि अभिजित बनर्जीलाई बधाई दिएकी छन्। सन् २००३ मा उनले डफेलो र सेन्डहिल मुलेन्टनसँग मिले अब्दुल लतिफ जमिल पवर्टी ऐक्सन ल्याब (जेपीएएल) स्थापन गरेका थिए। सन् २००९ मा जेपीएएललाई डेभेलपमेन्ट कोपरेसन क्याटगरीमा बीबीभीए फाउन्डेसनको फ्रन्टियर नलेज अवार्ड प्राप्त गरेका थिए।

अभिजित बनर्जीले आर्थिक मामिलामा कयौं लेख लेखिसकेका छन्। उनले पुअर इकनोमिक्ससहित ४ पुस्तक लेखिसकेका छन्। उक्त किताबलाई गोल्डम्यान सक्स विजनेस बुक अफ द इयरको सम्मान प्राप्त भएको थियो। एमआईटीमा दिएको उनको परिचयमा उनले दुई वृत्तचित्रमा पनि निर्देशन गरिसेकेको उल्लेख छ।

उनकी पत्नी तथा फ्रान्सली मुलकी अमेरिकी इस्टर डफेलो एमआईटीमा पभर्टी एलिभिएसन एन्ड डेभलपमेन्ट इकोनोमिक्सका प्रोफेसर हुन्। उनले सन् १९९९ मा एमआईटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए।

उनले अभिजित बनर्जीको रेखदेखमा नै आफ्नो पीएचडी पूरा गरेकी थिइन्। यस क्रममा उनीहरूबीच प्रेम भयो र दुवै सँगै बस्न थाले। सन् २०१५ मा उनीहरूले औपचारिकरूपमा विवाह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्