पृथकतावादी नेताहरूको मुद्दाको निर्णय हुने



म्याड्रिड, (एजेन्सी)। स्पेनको सर्वोच्च अदालतले सन् २०१७ को स्वतन्त्र जनमत संग्रहमा भूमिका निभाएको अभियोग लगाइएका क्याटलान पृथकतावादी नेताहरूको मुद्दाको निर्णय दिएकोे छ। अदालतले सोमबार ९ जना पृथकतावादी नेतालाई ९ देखि १३ वर्ष लामो कारावास सजाय सुनाएको छ।

स्पेनी सरकारले अदालती निर्णयका कारण समृद्ध उत्तरपूर्वी क्षेत्र क्याटलोनिया विरोध प्रदर्शन शुरू हुने आशंकाले थप प्रहरी परिचालन गरेको छ। त्यसै गरी अन्य तीन जनालाई भने दोषी ठहराइए पनि आर्थिक दण्ड मात्र तोकिएको छ। यसै गरी पूर्वक्याटलान राष्ट्रपति कार्लेस पुइदमोनटविरुद्ध नयाँ पक्राउ पुर्जी जारी गरिएको छ।

१२ जना राजनीतिज्ञ र अभियन्ताविरुद्ध विद्रोह गरेको, देशद्रोह र सरकारी कोषको दुरूपयोग गरेको अभियोग लाग्न सक्ने बताइएको थियो। तर, तिनीहरूले आफूमाथि लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गरेका छन्। तिनीहरूमध्ये नौ जनालाई कारावास सजाय हुने सम्भावना यसअघि नै अनुमान गरिएको थियो।

यसै गरी क्याटोलोनियाका पृथकतावादीहरूले यदि तिनीहरू सबैलाई मुक्त नगरिएको खण्डमा आम नागरिक अवज्ञा गर्ने योजना बनाइरहेका छन्। दुई वर्षअघि स्पेनको संवैधानिक अदालतले अवैधानिक घोषित गरेको जनमत संग्रहमा क्योटोलोनियाका स्वतन्त्रताका हिमायती नेताहरूले भाग लिँदा प्रहरी र प्रर्शनकारीहरूबिच भिडन्त भएको थियो।

गत जुनमा अदालती सुनवाइको क्रममा प्रतिवादी वकिलहरूले तिनीहरूले आफूमाथि लगाइएको अभियोग अस्वीकार गरेको बताएका थिए। अभियोग लगाइएका १२ जनामध्ये केही क्याटालोनिया सरकार र संसका उच्च ओहदामा रहेका र बाँकी प्रभावशाली अभियन्ताहरू रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्