थाहानगरमा आगजनीको शृंखला



हेटौंडा, (नेस)।पार्किङ गरेर राखिएका ट्रिपर र जेसीबीमा आगजनी गरिएको ३ दिनपछि अज्ञात समूहले उत्तरी मकवानपुरको थाहानगर–५ को कार्यालयमा आगजनी गरेको छ।
वडा कार्यालय यस वर्ष बनाइएको हो। करिब १४ लाख लागतमा कार्यालय गत वर्ष मंसिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो।

वडास्थित सानो फाखेलको आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार मध्यरात आगजनी गरिएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिनुभयो। अध्यक्ष गुरुङले भन्नुभयो–ढोका फुटाएर, मट्टीतेल छर्केर आगो लगाइएको छ। विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएछन्।

स्थानीयले आगो निभाएर जनप्रतिनिधिलाई खबर गरेको वडा सदस्य चमेली वाइबाले जानकारी दिनुभयो। ‘कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ, केही बाँकी छैन,’ वाइबाले भन्नुभयो।
वडा कार्यालयका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिनुभयो।

घटनामा संलग्न भएको आशंकामा स्थानीय चार जना र कैलालीका एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। आगजनीको कुनै समूह तथा व्यक्तिले जिम्मा लिएको छैन। वडा कार्यालयमा भएकोे आगजनीको घटनापछि मकवानपुरका सुरक्षा प्रमुख थाहानगर पुगेका छन्।

घटनाबारे अध्ययनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरेसहिते टोली घटनास्थल पुगेको हो। घटनाबारे सूक्ष्म अनुसन्धान चलिरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिंहले बताउनुभयो।

थाहानगरको केन्द्र मानिने शिखरकोटमा पार्किङ गरेर राखेको ट्रिपर र जेसीबीमा अज्ञात व्यक्तिहरुले बिहीबार राति करिब सवा ११ बजे आगजनी गरेका थिए। थाहा उद्योग वाणिज्य संघको भवननजिक पार्किङ गरेर राखिएको सिर्जना कन्स्ट्रक्सनको ना. १ क ३२४२ नम्बर जेसीबी र प्रोग्रेसिभ कन्स्ट्रक्सनको बा. ३ क १२१५ नम्बर ट्रिपरमा आगजनी भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्