चोरी निकासी बढेपछि सुरक्षा अधिकारी चिन्तित



नेपाल समाचारपत्र, बाँके।नेपालगन्ज नाकाबाट चोरी निकासी बढेको गुनासो आएपछि सुरक्षा अधिकारी चिन्तित भएका छन्।चोरी निकासी रोक्ने र राजस्व वृद्धि गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्ज भन्सारका प्रमुख शान्तिराम निरौला, नेपाल प्रहरीका एसपी वीरबहादुर वली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी र राष्ट्रिय अनुसन्धानका प्रमुख कमल भट्टराईसँग गम्भीर छलफल गरेका हुन्।

भन्सारका विषयमा माथिबाट पत्र आएको बुझिएको छ।प्रमुख जिल्ला अधिकारी खड्काले राजस्वको अवस्था, चोरी निकासी नियन्त्रणमा अझ कडाइ गर्ने विषयमा छलफल गरेको बताउनुभयो। ‘माथिबाट पत्र आइरहन्छन्, हाम्रो यस्तो बैठक पनि भइरहन्छन्,’ प्रजिअ खड्काले भन्नुभयो– ‘हामीले राजस्व बढाउने विषयमा छलफल गरेका छौं।’

भन्सार प्रमुख निरौलाले बैठकमा चोरी निकासी नियन्त्रण गर्न रातदिन गस्ती गरिरहेको जानकारी गराउनुभएको थियो। ‘हामीले चोरी नियन्त्रणमा धेरै गरेका छौं,’ भन्सार प्रमुख निरौलाले भन्नुभयो– ‘गतवर्ष ४ सय मुद्दा चलेको थियो। यसपाली अहिले दुइ–ढाई महिनामै २ सय मुद्दा चलिसकेको छ।’

नेपालगन्ज भन्सारमा अहिले राजन्व संकलनमा अलि कमी आएको छ। भन्सार प्रमुख निरौलाले नेपालगन्जमात्रै नभएर देशभरकै नाकामा राजस्व संकलनमा कमी आएको जानकारी दिनुभयो।
एसपी वलीले भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर चोरी निकासी रोक्न नाकामा गस्ती, पेट्रोलिङ बढाउने विषयमा छलफल भएको बताउनुभयो।

‘रातिमा गस्ती, पेट्रोलिङ बढाउने कुरा भएको छ,’ एसपी वलीले भन्नुभयो– ‘भारतीय प्रहरीसँग समन्वय गरेर अघि बढ्ने कुरा भएको छ।’केहीदिन पहिला नेपालगन्ज नाकाबाट भित्रिएका कपडा दाङका गाउँगाउँमा पुगेको भन्दै दाङका उद्योग वाणिज्य संघका पदाधिकारी नेपालगन्ज भन्सार कार्यालयमा आएर चोरी निकासी रोकिदिन आग्रह गरेर गएका थिए।

नेपालगन्ज उद्योग वाणिज्य संघले बेलाबेलामा चोरी निकासी बढेकाले रोकिदिन आग्रह गर्दै आइरहेको छ। यद्यपि, व्यापारीले नै चोरी निकासी गरेर ल्याएको कपडा किनिदिने गर्दछन्। बाँकेमा ६५ किलोमिटर नाका पर्दछ। छोटी भन्सार नभएकाले तस्करले खुल्ला सीमानाको फाइदा उठाउने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्